प्रचण्डको पुरनावलोकन निवेदन सुनुवाइका लागि प्रधानन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय इजलास गठन


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन माग राखी दर्ता गरेको निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।

सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको तीन सदस्यीय इजलासमा उक्त मुद्दाको पेसी तोकेको हो । इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् ।

आजको सुनुवाइले प्रचण्डले माग गरेबमोजिम पुनरावलोकनका लागि स्वीकृति दिने कि नदिने भन्ने निर्णय गर्नेछ । इजलासले पुनरावलोकन गर्ने भनी आदेश गरेमा फैसला कानुनसम्मत छ/छैन भन्नेबारे पुनरावलोकन हुनेछ ।

पुनरावलोकन नहुने भनी आदेश गरेमा गत फागुन २३ कै फैसला अन्तिम हुनेछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेपछि गत मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनरावलोकनको निवेदन दिएका थिए ।