काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरहरुबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्ने निर्णय भएको हो ।
छलफलपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायातका क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने निर्णय भएको जानकारी दिए ।
सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरु राख्ने, भौतिक दुरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको उनले बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले भारतमा कोरोना संक्रमणको दर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्व सावधानी अपनाउने विषयमा छलफल भएको बताए ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आउँदै गरेको होली पर्वलाई घरभित्रै सीमित गर्न र सार्वजनिक स्थलमा आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको थियो ।
शिक्षा मन्त्रालयले पनि कोरोनाको जोखिम बढेको भन्दै विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ । भारतमा कोरोना संक्रमण बढेपछि सरकारले सीमा क्षेत्रमा कडाई गरेको छ भने हेल्थ डेस्क स्थापना गरी परीक्षण गर्न थालेको छ ।

प्रतिक्रिया