बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनमात्रै अहिलेको राजनीतिक निकास भएको बताएका छन् ।
प्रेस मञ्च नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटम अध्यक्ष यादवले लोकतान्त्रिक गणतन्त्र, संघीयता र समावेशी नचाहने सरकार पूर्णरूपमा असफल भएकाले यसको विकल्प खोज्नुपर्ने बताए ।
उनले यसका लागि संसद्को दोस्रो ठूलो दल कांग्रेस अघि बढे जसपाले समर्थन गर्ने बताए । अध्यक्ष यादवले भने, ‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनै पर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ । त्यसका लागि कांग्रेस अघि बढोस्, हामी समर्थन गर्न तयार छौं ।’
उनले ओली नेतृत्वको सरकारमा जसपा कुनै पनि अवस्थामा सहभागी नहुने बताए । उनले सत्तासमीकरणमा सरकारसँग सती जान नसक्ने र कुनै लगनगाँठो पनि नबाँध्ने उनले बताए ।
उनले भने, ‘सरकारले संसदलाई कामबिहिन बनायो । कुनै विजनेस दिएको छैन । संसद असफल बनाउने खेलमा लागेको छ । फेरि संसद विघटन गर्न सरकार लागि परेको छ ।’ पार्टीका राजबन्दी रिहाइका लागि सरकारसँग वार्ता भइरहेको विषयलाई सत्ता साझेदारीका रुपमा व्याख्या नगरिदिन उनले आग्रह गरे ।
पछिल्लो समय सत्ता समीकरणबारे जसपाभित्रका केही व्यक्ति लागे पनि ती असफल हुने यादवले बताए । उनले भने, ‘जसपाको स्पष्ट लाइन हो, वर्तमान सरकारसँग कुनै सहकार्य, साझेदारी हुँदैन ।’

प्रतिक्रिया