काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले शुक्रबार केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजे नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बस्न लागेको हो ।
पार्टीमा देखिएको विवाद र आफ्ना पक्षका ४ जना नेतालाई सोधिएको स्पष्टीकरणबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । पार्टी हित विपरित काम गरेको केपी ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष डा. भीम रावल, नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको छ ।
शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार एमाले महासचिव ईश्वर पोखरेलले उनीहरुलाई स्पष्टीकरण सोधेका थिए । तीन दिनभित्र स्पष्टीकरणसहित लिखित जवाफ प्रस्तुत गर्न उनीहरुलाई समय दिएपनि अहिलेसम्म स्पष्टीकरण दिएका छैनन् ।
नेपाल पक्षका नेताहरुले स्पष्टीकरणको जवाफ तयार भइरहेको जनाएका छन्। यही विषयमा छलफल गर्न नेपाल पक्षको बुधबार स्थायी कमिटी सदस्यहरुबीच छलफलसमेत भएको थियो ।

प्रतिक्रिया