मकवानपुरमा बस र ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु


हेटौंडा । मकवानपुरको मनहरी सुनाचुरीमा बस र ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–चितवन सडक खण्डमा बिहान ३ बजेतिर बस र ट्रक आपसमा ठोक्किएका हुन् ।

हेटौंडाबाट चितवनतर्फ गइरहेको ना.४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आइरहेको ना.६ ख ८९ नम्बरको ट्रक आपसमा ठक्कर खाँदा बसका चालकसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा बस चालक वीरगञ्ज–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ४० वर्षीय अभयलाल कुशवाह र भारत बिहारका ४० वर्षीय सुनिल कुमार रहेका प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।