पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूद्वारा प्रदर्शन


काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूह निकटको अनेरास्ववियूले बिहीबार बिहान काठमाडौंमा प्रदर्शन गरेको छ । मूल्य बृद्धिको विरोधमा अनेरास्ववियुले प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसअगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए । पेट्रोलियम पदार्थमा लगाइएको शतप्रतिशत करका कारण सर्वसाधारण इन्धन खरिदमा चर्को मूल्य तिर्न बाध्य भएका छन् ।

सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ । आयल निगमले कायम गरेको पेट्रोलको मूल्य साढे २ वर्षयताकै उच्च हो ।