केपीजीले सेटिङ गरेपनि सायद अदालतले मान्दैन होलाः गजुरेल


काठमाडौं । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्न सकिने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित साक्षात्कारमा गजुरेलले अहिलेको व्यवस्था नै गलत हो भनेर दलहरुले विचार गर्नुपर्ने बताए ।

उनले भने,‘ओलीले प्रतिनिधिसभा विघटन गर्ने प्रस्ताव गर्नुभयो, र, लगत्तै राष्ट्रपतिले स्विकार गर्नुभयो । यो कदमलाई हामीले प्रतिगमनकारी भनेका छौं । संविधानअनुसार यो अधिकार उहाँलाई छैन् । उहाँले चुनावको मिति घोषणा गर्नुभयो । चुनाव हुनेवाला पनि छैन् । चुनाव गराउनको लागि मिति तोकिएको होईन् । हुनेवाला छैन् । उहाँको उद्देश्य चाहीँ के छ भने यो सरकारलाई जसरीपनि लम्ब्याउने हो । शासक बनिरहने ।’ उनले अहिले राष्ट्रपति शासन र संकटकाल लागु गर्ने कुरालाई घट्नाक्रमले पुष्टि गर्दै गएको टिप्पणी गरे ।

उनले नेकपाले जनतामाथि कुठराघात गरेको पनि बताए । संसद विघटन हुनुको उनले तीन कारण सुनाए । पहिलो कारण, सत्ताधारीभित्रको किचलो, कलह, सत्ता नै भएको उनले सुनाए ।

उनले भने,‘सत्ताधारीभित्र पद, पैसाको लागि किचलो भयो । अर्को, स्वयम यो व्यवस्थाको कमजोरी पनि कारण हो । ओलीले फाईदा उठाएर यो गरे । कहीँ न कहीँ यो व्यवस्थाको कमजोरी हो । अर्को, विदेशी शक्तिको हस्तक्षेप हो ।’ उनले अहिलेको राजनीतकि समस्या÷संकटको समाधान अब संयुक्त वैकल्पिक सरकार बनाएर व्यवस्थाको विकल्प खोज्जनुपर्ने सुनाए ।

उनले भने,‘समाधानको उपायबारे अहिले बहस चलिरहेको छ, ओलीजीले नयाँ निर्वाचन भनेका छन् । अहिले आएर कांग्रेसका नेताहरुले भाषण गरेका छन्, चुनावको पक्षमा । सभापति देउवाले नै के भन्नुभयो भने उहाँले पूनःस्थापना गर्नुपर्छ भन्नुभएन । उहाँको जोड चाहिं आयोगले किन निर्वाचन गर्दैन ? किन नेकपाको विवाद हल गर्दैन ? भन्ने देखियो । संसदीय दलहरु नै विभाजित देखिए । जसपापनि दुई धारमा देखियो । आँफैमा दलहरु विभाजित छन् । सबैको ध्यान सर्वोच्च अदालतले के फैसला गर्छ ? अब त्यो अदालतमा गैसकेको छ । हुन त बाहिर के चर्चा छ भने, ओलीजीले सेटिङ मिलाएर गरेकोले उनकै पक्षमा अदालतले फैसला गर्छ भन्ने छ । त्यसो गर्नु गलत हुन्छ । सायद, अदालतले मान्दैन होला ।’

उनले अघि भने,‘कुन फैसला भयो भने देश अघि बढ्छ त ? संसद पूनःस्थापना अथवा निर्वाचन भयो भने संकटको समाधान हुन्छ त ? तर, हाम्रो विचारमा दुवैले समाधान दिँदैन ।’ सरकारको समीक्षा गर्दापनि नेकपाको प्रचण्ड–नेपाल पक्षका नेताहरुले तीन वर्षमा केही पनि काम नगरेको र झुटको पुलिन्दा मात्रै बाँडेको टिप्पणी गरेको सुनाए । उनले भने,‘तीन वर्षमा ओलीजीले झुटको पुलिन्दा गर्नुभयो । उहाँहरुले आँफै यो तीन वर्ष काम भएको थिएन भन्नुभएको छ। निर्वाचन नै हुँदैन पहिलो कुरा, भैहाल्यो भने । निर्वाचन पनि एउटा तामाशा मात्रै होला । सामधान दिँदैन् । २०६२/०६३ मा जनसागर उर्लिएको थियो । अब यो स्थिति पैदा भएको छ, के ओलीको मात्रै असफलता हो ? यो त व्यवस्थापनि असफलता हो।’

उनले आफूहरुले अहिलेको व्यवस्थाको नै विकल्प खोज्नुपर्ने बताएको सुनाए । उनले भने,‘हाम्रो भनाई के छ भने व्यवस्थाको बारेमा पूर्नविचार गरौं । आन्दोलन अघि बढाऔं । संयुक्त आन्दोलन त्यताबाट गरौं । संसदीय पार्टी नेपाली कांग्रेस त संयुक्त आन्दोलनमा आउन सकेन्। हामीसँग त धेरै अन्तर छन् । बरु, अहिले सिभिल सोसाईटी अघि बढेको छ । अब तेस्रो आन्दोलन आवश्यकत्ता छ भनेर एक जना अभियन्ताले भन्नुभयो । अब अर्को आन्दोलनको आवश्यकत्रा पर्यो । राष्ट्रिय पार्टीहरु, नेताहरुले खुला दिलले सोच्नुपर्यो । त्यही व्यवस्था समातेर कहीँ पुगिँदैन ।’