चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेकोले त्यो पहिले सच्याउनुपर्ने बताएका छन् ।
संसद विघटनविरुद्ध सोमबार चितवनमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले ‘प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीभन्दा पनि सन्की प्रधानमन्त्री अस्तव्यस्त नेपाल बनाएको बताए । थापाले प्रधानमन्त्रीसँग अदालत डराउन नहुने बताए । उनले कसैको प्रभावमा नपरि निर्णय गर्न अदालतलाई सुझाव दिए ।
‘मेरो अदालत यो प्रधानमन्त्रीसँग नडराओस्, अदालतले हिम्मत गरोस् । कसैको आमसभा, विरोध सभा नहेरोस्, संविधानको धारामात्रै हेरोस् ।’ उनले आफ्नै नेताहरुले एकअर्कालाई गाली गरेको देखेर नेकपा कार्यकर्ता विक्षिप्त बनेको दावी गरे ।
थापाले वर्तमान सरकारले चुनाव गर्नै नसक्ने बताए । ‘संसद पुनःस्थापना हुन्छ, पुनःस्थापित संसदलेमात्रै देशलाई चुनावमा लैजान्छ’, उनले भने, ‘देशलाई संकटबाट कांग्रेसलेनै बचाउँछ, हामी सम्हाल्छौँ ।’बहुमत प्राप्त गरेको प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकारै नभएको जिकिर गर्दै थापाले संसद विघटनलाई संविधानको विघटनका रुपमा चित्रण गरे ।

प्रतिक्रिया