काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार हुँदै नभएको जिकिर गरेका छन् ।
सोमबार प्रतिनिधिसभा विघटनविरुद्धको जवाफी बहसका क्रमममा थापाले आफूसँग संविधान परिवर्तन गर्ने अधिकार नभएपनि त्यसले दिएको फल भने खाने अधिकार भएको भन्दै संविधानको रक्षा गर्ने दायित्व सबैको भएको बताए ।
बहसका क्रममा थापाले भने, ‘हाम्रो संविधानले विघटनको अधिकार कुनै पनि प्रधानमन्त्रीलाई दिएको छैन । प्रधानमन्त्री दिन नसके प्रतिनिधिसभा आफै मर्छ । संविधानको धारा ७६(७) मार्फत कुनै पनि प्रधानमन्त्री जन्माउन नसकिए संविधान आफै मर्छ ।’ उनले संविधानले श्री ३ र श्री ५ को जस्तो अधिकार कसैलाई पनि नदिएको भन्दै प्रधानमन्त्रीका वकिलहरुले गरेको बहसको प्रतिवाद गरे ।
उलने भने, ‘यो संविधानमा न श्री ३ छ न श्री ५, सार्वभौमसत्ता जनतामा निहीत छ भनेको छ संविधानले । हिजोको संविधानमा राजनीतिक अधिकारको व्याख्या थिएन । आज त्यो पनि रहेको छ ।’ थापाले प्रधानमन्त्री ओलीको समेत बोली फेरिएको दावी गर्दै बुटवलमा शनिबार दिएको अभिव्यक्तिमा त्यस्तै पाइएको बताए । उनले भने, ‘उहाँ संसद पुनःस्थापना हुँदैन भन्नुहुन्थ्यो, बुटवलमा पुगेपछि पुनःस्थापना भयो भने सरकार बन्न सक्दैन भन्नुभयो । अदालतमा वकिलहरुको बहसले उहाँमा चार चाँद लागेको देखियो ।’
थापाले विगतमा नेपालमा ४ पटक प्रतिनिधिसभा विघटन भएको र सबैमा संसदीय व्यवस्थाको अधिकार प्रधानमन्त्रीमा भएको भनिएपनि संसद प्रधानमन्त्रीको नोकर नहुने जिकिर गरे ।

प्रतिक्रिया