प्रतिनिधिसभा विघटन राष्ट्र, जनता र लोकतन्त्रको अहितमाः प्रचण्ड


चितवन । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने बताएका हुन् । उनले भने, “चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन ।” लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा रहेको बताए ।

विभिन्न जिल्लामा विरोधसभा भइरहेका सन्दर्भमा चितवनमा यही फागुन १२ गते हुने सभामा उनले सम्बोधन गर्ने जनाइएको छ । प्रचण्ड आज दिवङ्गत आफ्ना सम्धी भरतपुर महानगरपालिका वडा नम्बर ७ निवासी नरबहादुर केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्न यहाँ आएका परिवारजनले जनाएको छ । उनी आजै काठमाडौँ फर्किने कार्यक्रम छ ।