काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचनका बेला जनतासामु गरेका बाचा पूरा गर्न नदिएपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।
तीन वर्षमा सरकारले गरेका उपलब्धि जानकारी गराउन सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट जनतासँग गरिएका बाचा पूरा गर्न नदिएकाले प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् ।
उनले संसद विघटन गर्नुअघि आफूले धेरै सोचेको र वैकल्पि सरकार गठन गर्ने आधार नदेखिएकाले विघटन गरेको बताए । उनले निर्वाचन घोषणालाई प्रतिगमन नभन्न आग्रह गरे ।
प्रचण्ड नेपाल समूहतर्फ लक्षित गर्दै प्रधानमन्त्रीले भने,‘निर्वाचनमा जनादेशमा जाऔं भन्दा कसरी त्यो प्रतिगमन हुन्छ । अहिले निर्वाचन नभएपछि दुई वर्षपछि त निर्वाचनमा जानुनै थियो । कि उहाँहरु जन्मकुण्डली पल्टाएर हेर्नुुहुन्छ कि संविधान ?’
उनले आफू सधैं सत्तामा बसिरहन नचाहेको पनि बताए । प्रधानमन्त्रीले यो जनदेशको अवहेलना नभई जनादेशको सम्मान भएको बताए । उनले संसदीय समितिमा पुगेका विधेयकहरु अनावश्यक गोलचक्करमा फसिरहेका र फसाइ संसदमा प्रस्तुत नगरिएको, संवैधानिक अंगमा नियुक्ति गर्न नदिएर घेराबन्दी मात्र गरिएको बताए ।
उनले भने, ‘राजदूत खाली छन् नियुक्ति गर्न दिइएन, संवैधानिक अंगमा कसैको सिफारिस गर्दा कचिंगल मच्याइयो, आफ्नै दलका सदस्यले संसदीय सुनुवाई समितिमा अड्काउने, विकास सम्बन्धी विधेयक र सार्वजनिक खरिद ऐन विधेयकलाई समेत अड्काइ विकासको गतिलाई अवरोध पुर्याइयो, कार्यकारी पदमा अनुपयुक्त पात्र अघि सार्ने र नियुक्ति गर्न नदिने र समानान्तर सरकार गठनको प्रयास भयो । अनि कसरी गर्ने काम ?’
उनले एकवर्षदेखि अनेकौं लान्छना सहेरै निर्वाचन बीचमा गर्नु नपरोस् भनेर धेरै सहेको तर सम्झाउने प्रयास असफल भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीविरुद्ध निराधार फौजदारी अभियोग छापेर देशभर वितरण गरेर सरकारमाथि हमला भयो । सकेसम्म विस्थापित गर्नेलाई सम्झाउने प्रयास गरेको हो । लगातार गर्दा पनि असफल भएँ । खुइल्याउने प्रयास नगरौं, पार्टी र सरकार चलाऔं भनेर प्रयास गरें । पुस पाँच गतेको अपरान्हसम्म लगातार प्रयास गरें । प्रतिनिधिसभा विघटन गर्नुअघि धेरै पल्ट सोचें विघटनगर्नुनपरोस भनेर प्रयास गरे । तर नसकेपछि विघटन गर्न बाध्य भएँ।’
उनले संसदीय दलमा आफूविरुद्ध कुनै उजुरी नपरेको बताए । उनले आफू ६४ प्रतिशत मत भएको दलको नेता भएको दाबी गरे । उनले भने, ‘एक जना व्यक्तिले झुठो लान्छनाको पत्रबाहेक मेराविरुद्ध संसदीय दलमा केही छैन अरु उजुरी । पार्टी भित्र पनि संसदीय दलको नेता बदल्नुपर्छ भन्ने कुरै उठेको थिएन । नेकपाभन्दा बाहिरबाट जहाँ ३६ प्रतिशत संख्या त्यो ५१ प्रतिशत त पुग्दैन । अनि नयाँ कदम चालेको हुँ ।’

प्रतिक्रिया