नेकपाको विवाद समाधान नगरी निर्वाचन प्रक्रिया अघि नबढ्ने प्रचण्ड-नेपाल समूहको जिकिर


काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले नेकपाको विवाद समाधान नगरी निर्वाचन प्रक्रियामा अघि बढ्न नसक्ने बताएको छ ।

निर्वाचन आचारसंहिताबारे छलफल गर्न भन्दै निर्वाचन आयोगले आइतवार बोलाएको बैठकमा प्रचण्ड–नेपाल समूहका तर्फबाट सहभागी स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेकपाको विवाद समाधान नगरी निर्वाचनको प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका हुन् ।

उनले आफूहरूले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसारको दाबी सहितको पत्र निर्वाचन आयोगमा बुझाए पनि अहिलेसम्म आधिकारिकतासम्बन्धी कुनै निर्णय नआएको बताए । बैठकमा उनले भने, ’६४ प्रतिशत मत रहेको दलको विवाद समाधान नगरी निर्वाचन आयोग अगाडि बढ्न सक्दैन ।’

पोखरेलले नेकपाको वास्तविक विवाद माघ १२ गते निर्वाचन आयोगले पत्र दिएपछिबाटै शुरू भएको जिकिर गरे । त्यसअघि बसेका केन्द्रीय समिति बैठक अध्यक्ष र महासचिवले बोलाएकै बैठकको निरन्तरता भएको भन्दै पोखरेलले ४ सय ४१ केन्द्रीय सदस्यलाई मान्यता दिन्छौं भन्ने आयोगको निर्णय आएपछि एकताका बेला त्यही केन्द्रीय समितिको बहुमतका आधारमा आफूहरूले आधिकारिकता दाबी गरेको बताए ।