वृद्धाभत्ता मासिक पाँच हजार पुर्याउछौंः उपप्रधानमन्त्री पोखरेल


ओखलढुंगा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् । ओखलढुंगाको चिशङ्खुगढीमा नेकपाको ओली समूहको जनसभालाई सम्बोधन उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक पाँच हजार दिने बताएका हुन् ।

गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढावा दिने तयारी गरिए पनि पार्टीभित्रको एउटा समूहले विरोध जनाएका कारण त्यो सम्भव नभएको भन्दै उनले आगामी दिनमा सरकारले लक्ष्यअनुसार काम गर्ने उल्लेख गरे ।

उपप्रधानमन्त्री पोखरेलले काम गर्न नदिएर सरकारलाई असफल बनाउने र मुलुकलाई पछाडि धकेल्ने प्रयास गरेकाले ताजा जनादेशमा जानु परेको बताए । विकास र समृद्धिका अभियान निरन्तर अघि बढ्ने उनको भनाइ थियो ।

उनले अघिल्लो निर्वाचनमा प्रधानमन्त्री ओलीको हस्ताक्षरबाट उम्मेदवारी सिफारिस भएको स्मरण गर्दै विगतदेखि नै पार्टीको नेतृत्व ओलीले गरेकाले अहिले पनि ओली नेतृत्वको नेकपा नै आधिकारिक हुने दाबी गरे ।