अब ओलीसँग केवल बयलगाडा मात्र साथमा हुनेछ : अध्यक्ष नेपाल


धनकुटा । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको सेटिङको अब केही नलाग्ने बताएका छन् । धनकुटामा शनिबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचन आयोगले सेटिङको भरमा अन्यायपूर्ण निर्णय गरे पार्टीका तीन सय केन्द्रीय सदस्य आयोग घेर्न जाने चेतावनी दिएका हुन् ।

अध्यक्ष नेपालले केन्द्रीय सदस्यको संख्याका आधारमा पार्टीको आधिकारिता आफूहरुले पाउने बताए । उनले ओलीले संवैधानिक आयोगहरुमा सेटिङ गरेर असंवैधानिक निर्णय गराए त्यो प्रतिउत्पादक हुने चेतावनी दिए ।

उनले भने, ‘अहिलेसम्म सर्वत्र सेटिङको भरमा गलत निर्णय गराउँदै आएका छन् । यदि निर्वाचन आयोगले पनि सेटिङका भरमा निर्णय गर्यो भने तीन सय केन्द्रीय सदस्य हातमा नागरिकता लिएर आयोग घेर्न जान्छौं ।’

उनले अब ओलीसँग केवल बयलगाडा मात्र साथमा हुने बताए । उनले मुलुक र जनताप्रतिको चिन्ता कहिल्यै नलिने ओली उखानटुक्का सुनाउँदै हिँडेको भन्दै व्यंग्य गरे ।

बालुवाटारको संरक्षणमा अधिकांश घटनाका दोषी उम्किएको भन्दै अध्यक्ष नेपालले ओली नेतृत्वको सरकारको कार्यकालमा मुलुकभर १४ हजार बलात्कारका घटना भएका उल्लेख गरे । निर्मला पन्त, भागरथी भट्टलगायत बलत्कारको शिकार भएका घटनामा सरकारले दोषीलाई अझै कारबाही गर्न नसक्नु दुःखद रहेको उनले बताए ।