काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले जनयुद्ध नेपालमा गणतन्त्र स्थापनाको ठूलो पाठशाला भएको बताएका छन् । जनयुद्धको आधारमा टेकेर नै मुलुकमा गणतन्त्र स्थापना भएको जिकिर गर्दै उनले नेपालको जनक्रान्ति र गणतन्त्र स्थापनाका लागि जनयुद्धको महत्वपूर्ण योगदानलाई भुल्न नहुनेमा जोड दिए ।
राजधानीमा २६औँ जनयुद्ध दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीय समितिद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै थापाले जनतालाई जागरण दिन सफल अभियानका रूपमा जनयुद्धलाई लिनुपर्ने उल्लेख गरे ।
गृहमन्त्री थापाले भने, “जनयुद्ध उत्पादनकर्ता पनि थियो, यसले लाखौँ युवालाई क्रान्तिका निम्ति तयार पार्यो, यो एउटा ठूलो पाठशाला थियो, जसले देशलाई नेतृत्व गर्ने नेता कार्यकर्ता उत्पादन गर्यो ।” जनयुद्धलाई एकतर्फबाट मात्रै बुझन् नहुनेमा जोड दिँदै उनले विभिन्न कोणबाट बुझन्पर्ने सुझाव दिए । उनले नेपालको जनक्रान्तिमा निर्णायक भूमिका जनयुद्धको रहेको तर त्यसअघिका धेरै जनवादी क्रान्ति असफल भएको जिकिर गरे ।
विसं २००७ मा नेपाली काँग्रेसको नेतृत्वमा सशस्त्र आन्दोलन गरेर राणा शासनलाई विस्थापित गरेको भए पनि जनवादी क्रान्तिलाई पूर्णता दिन नसकेको र पछि धेरै वामपन्थी शक्तिले गरेको प्रयास पनि असफल भएको मन्त्री थापाले बताए । उनले तत्कालीन राजनीतिक दलले जनआन्दोलनबाट नै लोकतान्त्रिक क्रान्ति पूरा गर्न सकिन्छ भनेर विसं २०३६ र २०४६ मा गरेको प्रयाससमेत सफल हुन नसकेको जिकिर गरे ।

प्रतिक्रिया