भगरथी हत्या घटनाको अनुसन्धानलाई तीब्र बनाउन कांग्रेसको आग्रह


काठमाडौं । नेपाली कांग्रेसले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु दुःखद भएको बताएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरी दोषी पत्ता नलाग्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई कांग्रेसले गम्भीर रुपमा लिएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘शान्ति स्थापना र संविधान निर्माण पश्चात देशमा अमन चयन स्थापना हुनेछ र नागरिकको जीवन सुरक्षीत बन्नेछ भन्ने विश्वास वितेका बर्षहरुमा कारुणिक ढंगले खण्डित हुँदै आएको छ । अनेक प्रकृतिको हिंसासंगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही बर्ष यता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको बिषय बनेको छ । ‘विकसित मुलुकमा पनि यस्तै हुन्छ’ भन्ने जिम्मेवार तहको गैरजिम्मेवार जवाफले वर्तमान सरकारको उदासिनता प्रकट गरेको छ भने अपराधको मानसिकता निरुत्साहित गर्न कानूनी चेतावनीको भाषालाई कमजोर समेत बनाएको छ । निर्मला पन्त प्रकरणका दोषी अझै कहिँ खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरु कानूनको कठघराभन्दा बाहिरै छन् ।’

महिलामाथिको हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जाँदा राज्यले बिशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन कांग्रेसले सरकार माग गरेको छ ।