ट्वेन्टी/ट्वेन्टी क्रिकेटको चर्चित इन्डियन प्रीमियर लीग (आइपीएल) को सन् २०२१ को प्रतियोगिताका निम्ति खेलाडीहरूलाई अक्शन वा लिलाम बढाबढबाट छान्ने सूचीमा यसपटक पनि एक नेपाली खेलाडी परेका छन् ।
सन्दीप लामिछाने यसपटक पनि सूचीमा परेका हुन् । उनी ४० लाख भारतीय रुपैयाँ मोलमा अक्शनको सूचीमा परेका छन् । उनीबाहेक नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले आईपीएलका निम्ति प्रस्ताव गरेर पठाइदिएको अन्य सात नेपाली क्रिकेटरहरूले भने सो सूचीमा ठाउँ पाउन सकेनन् ।
क्यानले पठाएका ती खेलाडीहरूमा विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा र दीपेन्द्र सिंह ऐरी थिए । सन्दीप लामिछानेले आईपीएलमा सन् २०१८ मा पहिलो पटक खेलेका थिए । उनलाई तत्कालीन दिल्ली डेअरडेभिल टोली (हाल दिल्ली क्यापिटल्स) ले रोजेको थियो । सन् २०१९ मा पनि दिल्लीले आफूसँगै राखेका कारण सन्दीपले अक्शनमा जानु परेन ।
सन् २०२० मा कोरोनाभाइरस महामारीका कारण पूर्वनिर्धारित समयमा आईपीएल हुन सकेन । त्यसपछि बिनाअक्शन सेप्टेम्बर(नोभेम्बर महिनामा सो प्रतियोगिता यूएईमा खेलाइयो ।
यसअघि सन् २०१८ मा उनले जम्मा तीन म्याच अनि सन् २०१९ मा छ म्याच खेल्न पाएका थिए। सन् २०१८ मा उनले कुल पाँच विकेट अनि सन् २०१९ मा ८ विकेट लिन सफल भएका थिए । आईपीएलको नियमानुसार विदेशी खेलाडीहरूको निश्चित कोटा तोकिएको छ ।

प्रतिक्रिया