काठमाडौं । राज्यविरूद्धको कसुरमा पक्राउ परेकी नेकपाको प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले निरंकुशताविरुद्धको यो अन्तिम लडाइँ हुने बताएकी छन् । हिरासतबाट सामाजिक संजाल फेसबुकमा नेतृ झाँक्रीले लेखेकी छन्, ‘राज्यविरूद्धका कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ । अपराध अनुसन्धान मीनभवनमा छु । सबै साथीहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाईं हो।’

राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले आज उनलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो ।
त्यसलगत्तै सादा पोसाकका प्रहरी शंखमूलस्थित उनको निवास पुगेका थिए । झाँक्रीले पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी हुन् । पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ ।

प्रतिक्रिया