पोखरा । हिउँदको समयमा विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमलको सफल आरोहण गरेर कीर्तिमानी राख्न सफल दस नेपाली पर्वतारोहीलाई सोमबार पोखरामा भव्य नागरिक अभिनन्दन गरिएको छ । टोलीलाई बाजागाजासहित पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईलगायत पर्यटन व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिले पुष्पगुच्छा र खादासहित स्वागत गरेका थिए । आरोहीलाई विमानस्थलबाट पृथ्वीचोक, नयाँबजार, न्युरोड र सृजनाचोक हल्लनचोक परिक्रमा गरेर स्थानीय रिसोर्टमा सम्मान गरिएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सामूहिक भावनामा विश्वास गरे सफल हुन सकिन्छ भन्ने सन्देश कीर्तिमानी आरोहीले दिन सफल भएको बताए । उनले हिमाल आरोहीले सच्चा नेपालीको पहिचान र परिचयलाई विश्वको इतिहासमा लेखाउन सफल भएको जनाउँदै सबै नेपालीले यसमा गर्व गरेको बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आरोहीको आँट, साहस र सामूहिक भावनाले देशलाई अन्तर्राष्ट्रियजगत्मा चिनाउन सफल भएको बताए ।
पोखरा पर्यटन परिषद्का पूर्वाध्यक्ष अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले विश्वमा नेपाल हिमालले चिनिएको देश भएकाले निकै जोखिम मानिने केटु हिमालको सफल आरोहणले नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाली एकअर्कालाई साथ र सहयोग गरेर जुट्न सक्छन् र एउटै उद्देश्यमा गोलबद्ध भएर लक्ष्य हासिल गर्न सक्छन् भन्ने सन्देश आरोहीले दिन सफल भएको बताए।
कार्यक्रमका संयोजक ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले ‘किलर माउन्टेन’ भनेर चिनिने केटु हिमालको सफल आरोहणले नेपालको नामलाई विश्वमा चिनाउन सफल भएको बताए ।
सम्मानपश्चात् केटु हिमाल आरोही दलका निर्मल पुर्जाले ‘मभन्दा माथि उठेर हामी’ भन्ने भावना राख्न सके जुनसुकै कुरामा पनि सफलता हासिल गर्न सकिने बताए । “मैले चाहेको भए पहिलो पाइला चुचुरोमा राख्न सक्थे, तर मैले त्यो स्वार्थ त्यागेँ, हामी बीचमा भेट भयो र सामूहिक भावना लिएर सँगै चुचुरोमा पाइला राख्ने निधो गर्यौँ, यसले हामीलाई ‘मबाट माथि उठाएर हामी’ भन्ने भावना पुर्यायो । यही सन्देश हामी सबैलाई दिन चाहन्छु ।”
सोही अवसरमा नेपाल पर्वतारोहरण सङ्घ गण्डकी प्रदेशको आयोजनामा गरिएको धम्पुस पिक (थापा पिक ६०१९) आरोहण कार्यक्रममा गण्डकी प्रदेशका छ जना आरोहीले सफलतापूर्वक आरोहण गरेकाले आरोहीहरु टासी पासाङ, मन गुरुङ, सनकुमार जुग्जाली, दीपेशबाबु सुवेदी, सुदीप गौतम र हिराकुमारी मल्ल रहनुलाई पनि सम्मान गरिएको थियो ।
पाकिस्तानमा रहेको केटु हिमाल (८६११ मिटर) नेपालका दस जना पर्वतारोहीले हिउँदको समयमा माघ ३ गते आरोहण गरेर इतिहास रचेका थिए । हिमाल आरोहण गर्ने निर्मल पुर्जाको आरोहण दलका नेपालीहरु मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा, दावा तेञ्जिङ शेर्पा, किलु पेम्बा शेर्पा हुनुहुन्छ भने सेभेन समिट नामको आरोहणबाट सोना शेर्पाले सफल आरोहण गर्न सफल भएका थिए ।

प्रतिक्रिया