काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्धको आन्दोलन बिस्तारै सकारात्मक बन्दै गएको बताएका छन् ।
सोमबार काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुस पाँच गतेदेखि आमहड्तालसम्म आइपुग्दा आन्दोलन फेरि नेपाली जनताले जित्नेतर्फ अगाडि बढेको बताएका हुन् । उनले माघ २८ गते काठमाडौंमा हुने शक्ति प्रदर्शनले त्यसलाई झनै उत्साहित बनाउने बताए ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली रक्षात्मक अवस्थामा पुगेका र त्यो कुरा काठमाडौंमा उनीहरुले गरेको सभाबाट पुष्टि भएको बताए । उनले भने, ‘ओली रक्षात्मक अवस्थामा पुगे । उनको हार निश्चित छ । उनको सभाबाट त्यो पुष्टि भयो । उनकै सुरक्षाकर्मीले समेत सभामा तीस हजार भन्दा बढी सहभागी थिएनन् भनेपछि उनी मानसिकरुपमा आतंकित भएका छन् । जनविरोधी कदमलाई जनताले समर्थन गरेनन् भन्ने कुरा पुष्टि भयो ।’
उनले पार्टीभित्रको झगडा कुर्सीका लागि नभई विचार, सिद्धान्त र निष्ठाको भएको बताए । उनले कुर्सीको लडाइँ भनेर केपी गुटले प्रचार गरेको बताए । पार्टीमा भएका विभिन्न बैठक र छलफलका परिदृष्य हेर्दा ओलीका गतिविधिबाट त्यो स्पष्ट देखिएको बताए ।
लोकतन्त्र विरोधीहरु इतिहासमा कहिल्यै सफल नभएका र हुन नहुने भन्दै अध्यक्ष प्रचण्डले लोकतन्त्र विरोधी आन्दोलनमा एक भएर लाग्न शिक्षकहरुलाई आग्रह गरे ।
कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ’ओली’बा’ समूह खोल्न सुझाव दिएका छन् । उनले आफूहरुले ओलीलाई पार्टीबाट निष्कासन गरिसकेकाले ओलीको नेकपासँग कुनै सम्बन्ध नरहेको बताए ।
ओलीसँग आसेपासे र भक्ति गर्ने मात्र रहेको बताए । उनले आफ्नो समूह नै आधिकारिक भएकाले सूर्य चिह्न आफ्नै समूहले पाउने दाबी पनि गरे ।

प्रतिक्रिया