काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलन बाध्यता भएको बताएका छन् ।
शनिबार मिडिया एलायन्ससँगको छलफलमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हिंसा चाहेकाले लोकतन्त्रको रक्षाका लागि आन्दोलन आफूहरुको बाध्यता भएको बताएका हुन् ।
उनले हिंसा चाहनेले संविधानको हत्या गरेकाले त्यसको रक्षाका लागि सबैलाई एकठाउँमा आउन आग्रह गरे । आफूहरुको लडाइँ सिस्टम बसाल्नका लागि भएको तर ओली त्यसकाविरुद्ध उभिएकाले समस्या उत्पन्न भएको बताए ।
उनले जनतालाई सुशासन दिने भनेर चुनावी गठबन्धन गरेको, अस्थीरताको अन्त्य, विभेदको अन्त्य, स्वदेशमै रोजगारीको व्यवस्था गर्ने भनेको तर ओली त्यसको विपक्षमा हुँदा निर्वाचनको तीन वर्षपछि ती प्रतिवद्धता पूरा नभएको बताए ।
आफूहरुले त्यसलाई रोक्न नसक्नु कमजोरी भएको भन्दै आत्मसमीक्षामा रहेको बताए । उनले यसकाबारेमा छिटो भन्दा छिटो स्वेतपत्र जारी गर्ने तयारीमा रहेको जानकारी दिए । उनले भने, ‘ चुनाव गरियो, गठबन्धन गरियो, झण्डै दुई तिहाई बहुमत पनि ल्याइयो, यत्रो प्रतिवद्धता गरियो तर तीन वर्षपछि एकाएक टाउकोमा घन हाने जसरी हानियो । तर किन यस्तो भयो त ? यसलाई किन रोक्न हामीले पनि सकेनौं त भनेर समीक्षामा छौं ।’
उनले पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदमा पनि अल्पमतमा परेको व्यक्तिले संविधान र लोकतन्त्रको हत्या गरेकाले त्यसका विरुद्ध सबै उभिनुको विकल्प नभएको बताए । उनले भने, ‘बैठक बसौं भनेर पार्टीका सचिवालयका पाँच जना सदस्यले भन्दा बस्नु भएन । महासचिवलाई तोक लगाइदिनुभयो बैठक प्रक्रियामा बस्छ भनेर । बैठक राख्नु भएन । अनि पार्टीमा लोकतान्त्रिक प्रणाली नमान्ने व्यक्तिले कसरी लोकतन्त्रको रक्षा गर्न सक्छ ?’
अध्यक्ष प्रचण्डले ओलीलाई कुन ठाउँमा पार्टीले अवरोध गर्यो भन्ने देखाउन आग्रह गरे । उनले संविधान र शान्तिको हत्या भयो भने हामीहरु नगए पनि कोही न कोही दक्षिणपन्थी वा बामपन्थीले टाउको उठाएर लोकतन्त्रलाई सताउने बताए । उनले कांग्रेस, जनता समाजवादी पार्टीलगायतसँग छलफल भइरहेकाले फागुनको पहिलो सातासम्म जाँदा एक खालको वातावरण बन्ने बताए । उनले यो लडाइँलाई सामान्य नठान्न आग्रह गरे ।

प्रतिक्रिया