काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन आग्रह गरेका छन् ।
अध्यक्षद्वयले शनिबार विज्ञप्ति जारी गरी भट्टको हत्याले आफूहरुलाई मर्माहत बनाएको भन्दै यो घटनाको सूक्ष्म अनुसन्धान गर्न आग्रह गरेका छन् । उनीहरुले यो घटनालाई निर्मला पन्तको जस्तै गैरजिम्मेवार नबन्न सरकारलाई आग्रह गरेका छन् ।
बुधबार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो । घटनाको अनुसन्धान गर्न शुक्रबार तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ ।
शव वीभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरिएको हुनसक्ने मृतक किशोरीका आफन्त शिवराज भट्टले बताएका छन् । प्रहरीले भने मृतक किशोरीको शव परीक्षण गरेपछि मात्रै बलात्कार भए नभएको बारेमा थाहा हुने जनाएको छ ।
दोषी पत्ता लगाई कारवाहीको दायरमा नल्याउँदासम्म शव उठाउन नदिने आफन्तले बताएका छन् । मृतक किशोरी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविका कक्षा १२ मा अध्ययनरत थिइन् ।
किशोरीको मृत्यु भएपछि शोकमा दोगडाकेदार गाउँपालिकाले बिहीबार शोक बिदा दिएको थियो । गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको निन्दा गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ ।


प्रतिक्रिया