काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार त्यसमा पनि केपी ओली देशलाई गृहयुद्धमा लैजान उद्दत रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनलाई निकास दिने संविधानको हत्या त्यसैको सुरुवात भएको बताएका हुन् ।
उनले शान्ति र संविधान भत्काउने ओलीको कुचेष्टाले फेरि अतिवादले टाउने उठाउन सक्ने भएकाले जनता सडकमा आउनुको विकल्प नभएको बताए ।
उनले भने, ‘म आफू शान्तिप्रति, बहुदलिय व्यवस्थाप्रति प्रतिवद्ध छु तर शान्ति र जनआन्दोलनको पर्यायका रुपमा आएको संविधानलाई कुल्चिनु भनेको शान्ति विरोधी हो । म शान्ति विरोधी नभएर मेरो पार्टी नभएर केही हुन्न । तर कहीँ न कहीँ अतिवादले टाउको उठाउन सक्छ ।’ उनले दुई चार दिन ढिलो भएपनि जनता सडकमा आउने र त्यसको सुरुवात भएको बताए ।
उनले कानुन मिचेर ओलीले संविधानलाई निचोरेका कारण आमहड्ताल गर्न बाध्य भएको बताए । उनले भने, ‘हामीलाई रहर होइन । आमहड्ताल गर्ने चाहना होइन । जनतालाई अप्ठ्यारो पार्ने काम नगरौं भनेको हो । संवैधानिक परिषद र भूमि आयोगमा एउटा व्यक्तिले संवैधानिक प्रावधान मिचेर नियुक्ति गरेपछि गुण्डाराज सुरु भएको आभाष भएर आमहड्ताल प्रतिवादका लागि गरेको हो । जनताको साथ भयो । नत्र यो सफल हुने थिएन । जनताको उपस्थितिले बन्द सफल भयो । सरकारविरुद्ध जनता लागेको देखियो । सधैं आमहड्ताल गर्ने पक्षमा छैनौं । यसका लागि क्षमा माग्छौं । आन्दोलन चर्किंदै गयो भने जनताले आमहड्ताल गर्न सक्छन् र त्यो हप्तौं जानसक्छ । लगातार जनतालाई अप्ठ्यारो पर्ने गरी हामी आयोजना गर्दैनौं ।’
उनले प्रतिगमनविरुद्ध संयुक्त रुपमा आन्दोलनका लागि सबैसँग छलफल र अन्तरक्रिया भइरहेको जानकारी दिए । उनले भने, ‘६२,६३ पछि यस्तो आन्दोलन गर्नुपर्छ भन्ने सोचेका थिएनौं । तर अहिले लोकतन्त्रका लागि आन्दोलनमा जानु बाध्यता भयो । जनतालाई साथमा लिएर आन्दोलनमा जानेछौं । विघटनपछि सबै दलसँग संयुक्त आन्दोलनका लागि छलफल गरिरहेका छौं । पहिले हामीले बैठक राख्यौं । दोस्रो कांग्रेसले राख्यो त्यसमा पहिला आफैं गरौं र पछि सबै मिलेर गरौं भन्ने सहमति गरेका छौं । सयुक्त आन्दोलनले दिने परिणाम फरक हुन्छ । नागरिक आन्दोलनसँग पनि कुरा भइरेको छ ।’ उनले केपी ओलीले दक्षिणपन्थसँग आत्मसमर्पण गरिसकेको तर नेपाली जनताले त्यसलाई स्वीकार गर्न नसक्ने बताए ।
उनले केपी ओलीले अदालत र निर्वाचान आयोगमा सेटिङ गरेको भन्ने सुनेको तर त्यसले केही नहुने बताए । उनले भने, ‘अदालत र आयोगमा सेटिङमा फैसला हुन्छ भन्ने भ्रम नराखे हुन्छ । जनताले त्यसलाई ढाल्नेछन् । यसरी चुनाव गरियो भने पनि त्यसले समाधान दिँदैन । आयोग र अदालतले संविधानले अनुसार गर्छ भन्ने भरोसा गरेका छौं भएन भने त्यतिबेलै हुन्छ जे हुन्छ तर त्यो राम्रो हुँदैन ।’
उनले केपीजीको कदम लोकतन्त्रविरोधी भनेर पूर्वप्रधानन्यायाधीश, पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सडकमा त्यसै नआएको बताए । उनले भने, ‘बेष्ट ब्रेन हामी एकठाउँमा छौं । पूर्वप्रधानन्यायाधीशहरुले किन विज्ञप्ति निकाल्नु पर्यो ? पूर्वप्रमुख निर्वाचन आयुक्त गएर आयोगमा के भने उनीहरु पनि शान्ति र संविधानका निम्ति ठूलो भूमिका खेलेका मान्छे हुन् नि । राम्रो दिमाग भएका मानिसहरु यसकाविरुद्ध उभिइसके ।’ उनले एमसीसीको समर्थक विरोधी आफू नभएको बताए ।
उनले भने, ‘ हिजोको आन्दोलन संवैधानिक नियुक्तिमा केन्द्रित भएकाले अरु नारा नलगाउनु भनेको हो । यो विषय होइन नि । संघर्ष समितिको नारा थिएन । यसको अर्थ एमसीसीको समर्थन गरेको भन्ने होइन । राजदूतसँग कुरा हुँदा पनि आफूले छलफल भएको र यसलाई परिमार्जन गर्नुपर्छ भन्ने भनाई राखेको छ । एमसीसीबारे पार्टीभित्र छलफल चल्यो केन्द्रीय कमिटीले कार्यदल बनाएको छ । यसकाबारेमा पार्टीले निर्णय लिएको स्थिति छैन । अन्यथा लिनु भएन ।’

प्रतिक्रिया