दुर्घटनामा नेकपाका सर्लाही इञ्चार्ज वाग्लेको मृत्यु


सर्लाही । नेकपाको प्रचण्ड-नेपाल समूहका सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बुधबार राति मूर्तिया चोकबाट उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा लडिरहेको अवस्थामा वाग्लेलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलबाट वाग्लेलाई बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । बुधबार साँझ नेकपाको प्रचण्ड–नेपाल समूहले आयोजना गरेको मसाल जुलुसको नेतृत्व गरेर ज१०प ३२०६ नम्बरको मोटरसाइकलले बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेका वाग्ले दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा गम्भीर एवं सूक्ष्म अनुसन्धान भइरहेको प्रहरी प्रमुख सन्तोषसिंह राठौरले जानकारी दिए । उनी सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिगाह निवासी हुन् । अहिले उनको शव बरहथवाबाट परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउने तयारी भइरहेको नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए ।