काठमाडौं महानगरले क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने


काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरेका छन् ।

कामपाले यसअघि पनि ए डिभिजन फुटबल क्लबलाई जनही १० लाख, बी डिभिजनलाई जनही छ लाख र सी डिभिजनलाई चार लाख सहयोग गरिसकेको छ । महानगरसँगै देशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन यसप्रकार लगानी गरिएको कामपाको भनाइ छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा नेपालको ख्याति बढाएको बताए ।

नेपाली क्रिकेट खेलाडीको आत्मबल बलियो बनाएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नतिजा ल्याउन महानगरको सहयोगले ठूलो काम गर्नेछ ।
कामपा सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीका अनुसार सङ्घलाई सम्झौताबमोजि दुई चरणमा अनुदान रकम प्रदान गरिनेछ । पहिलो चरणमा ६० प्रतिशत रकम उपलब्ध गराएपछि सङ्घले सञ्चालन गरेका कार्यक्रमका आधारमा दोस्रो किस्ताको रकम दिइनेछ । उपलब्ध यस रकमबाट आउँदो चैत मसान्तभित्र खेलका कार्यक्रम सञ्चालन गरिसक्नुपर्नेछ ।