काठमाडौँ । विभिन्न संवैधानिक निकायहरुमा सिफारिस गरिएकाहरुलाई आज बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइने भएको छ । आज बिहान ९ बजे राष्ट्रपति कार्यालयमा उनीहरुको शपथ ग्रहण गराउने तयारी भएको छ ।
राष्ट्रपतिको उपस्थितिमा संवैधानिक आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउनेछन् । विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूलाई शपथ ग्रहण गराउन लागिएको हो ।
संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन हुनुपर्छ । समितिले ४५ दिनसम्म निर्णय दिन नसकेमा भने नियुक्तिमा बाधा नहुने व्यवस्था संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावलीमा उल्लेख छ । यसैलाई आधारमा मानेर आज नियुक्त गर्ने तयारी राष्ट्रपति कार्यालयले गरेको हो ।
सुनुवाईविना नियुक्त गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिटसमेत दायर गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पनि संसदीय समिति नरहेकोले संवैधानिक आधार नभएको भन्दै संवैधानिक परिषद्को निर्णयको फाइल नै फिर्ता गरिसकेका छन् । संवैधानिक परिषद्ले संवैधानिक निकायका ३८ पदमा नियुक्तका लागि सिफारिस गरेको थियो ।
परिषद् बैठक बस्न र आफ्नो पक्षमा निर्णय हुन नसक्ने भएपछि परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर अनकुल बनाएका थिए ।

प्रतिक्रिया