राष्ट्रपतिबाट वाङ्मय शताब्दी पुरुषको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छन् ।

फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान गरेकी हुन् । जोशीको तस्वीराङ्कित १० रुपैयाँको हुलाक टिकट १० लाख थान छापिएको हुलाक टिकट व्यवस्थापन कार्यालयले जनाएको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शताब्दी पुरुष जोशीको तस्वीराङ्कित छपाइ भइआएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृत दिने निर्णय गरेको थियो । गत चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले सन् २०२० को फिलाटेलिक कार्यक्रम स्वीकृत गर्दै हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीद्वारा लिखित पाँच पुस्तक र जोशीले सिर्जना गरेका गीतसङ्ग्रह ‘क्रान्तिका लहर’ नामक सिडी राष्ट्रपतिसमक्ष अर्पण गरेका थिए ।

जोशीको जन्म १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा भएको थियो । कला, संस्कृति र साहित्यका धनी जोशीले २०७४ वैशाख २१ गते वाङ्मय शताब्दी पुरुषको उपमा पाएका थिए ।

उनले मदन पुरस्कार, सुप्रबल गोर्खा दक्षिणबाहु, त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, उज्ज्वल कीर्तिमान राष्ट्रदीपलगायत पदक र पुरस्कार प्राप्त गरेका छन् । जोशीलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।

उनको सम्मानमा नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट जोशीको तस्वीराङ्कित चाँदीको सिक्का निष्काशन गरिएको छ । दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र एक सयको १० हजार थान दरको सिक्का निष्काशन गरिएका छन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक टिकट प्रकाशनको इतिहासमा आफ्नो जीवनकालमै हुलाक टिकट प्रकाशन हुने सामाजिक व्यक्तित्वका रुपमा पहिलो व्यक्ति जोशी रहेको बताए ।