अब संसद पुनःस्थापना र संविधानको धारा ७६ अनुसार सरकार बनाउनुपर्छः डा. भट्टराई


अर्घाखाँची । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक तनाव व्यवस्थापन गर्न तत्काललाई २ वटा उपाय रहेको बताएका छन् ।

मंगलबार बिहान अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले प्रतिनिधिसभाको पुनःस्थापना या संविधानको धारा ७६ अनुसार सरकार बनाउनुपर्ने बताएका हुन् ।

भट्टराईले भने, ‘पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद विघटन विल्कुलै असंवैधानिक र अलोकतान्त्रिक हो, निर्वाचित सरकारले संविधानले तोकेअनुसार पूरा अवधी सरकार चलाउनुपर्छ, बहुमतबाट सरकार चलाउन नसकिने अवस्थामा मात्रै निर्वाचन हुनसक्छ, अन्यथा संसद बिघटन हुनु संविधानको मर्म विपरित प्रतिगमन तर्फको यात्रा हो।’

फुटिसकेको नेकपामा बहुमत नरहेकाले संविधानको धारा ७६ को उपधारा २ देखि ४ सम्म प्रयोग गरी सरकार बनाउनुपर्ने उनले बताए ।

उनले भने,‘त्यसपछि पनि सरकार बन्न सकेन भने बल्ल हामी निर्वाचनमा जानुपर्छ, अन्यथा संसद् पुनःस्थापना नहुने, बैशाखमा पनि चुनाव नहुने र देशमा सेना परिचालन गरी संकटकाल घोषणा गर्ने, संविधानमै ठूलो संकट आउने, नागरिक सडकमा जाने र त्यसैलाई वहाना बनाएर भारत, चीन र अमेरिकाजस्ता विदेशी शक्तिहरूले हस्तक्षेप गर्न सक्छन्, त्यसैले संसद् पुनःस्थापनाको विकल्प छैन।’