प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद बैठक बोलाएका छन् । आज साँझ ५ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बोलाइएको हो । सभामुख अग्नि सापकोटाले संसदीय सुनुवाईका लागि पठाइएका सिफारिसको निर्णयको सक्कलप्रतिनै फिर्ता पठाइ नियुक्ति प्रक्रियामै प्रश्न उठाएपछि परिषद बैठक बस्न लागेको हो ।

अदालतमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश र नियुक्ति सिफारिस बदरको माग गर्दै परेका रिटमाथि सुनुवाई भएको छैन । सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेपछि गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो ।

यसअघिका बैठक बहिष्कार गरेका सभामुख सापकोटा आजको बैठकमा पनि जाने सम्भावना छैन । त्यस्तै विपक्षी दलका नेता शेरबहादुर देउवा पनि आजको बैठकमा उपस्थित हुने छैनन् ।