सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षद्वारा आपत्ति


काठमाडौं । संवैधानिक परिषद्ले संसदीय सुनुवाइका लागि पठाएका सिफारिस सभामुखले फिर्ता गरेकोबारे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपत्ति र असहमति जनाएका छन् ।

तिमल्सिनाले सोमबार पत्रकार सम्मेलन गरी सभामुखको पत्रले राष्ट्रियसभाको गरिमामा प्रहार भएको भन्दै आपत्ति जनाएका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार परिषद्का कागजात सक्कलै फिर्ता पठाइदिएका थिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले सभामुखले फिर्ता पठाएको पत्रको असर नियुक्तिमा पर्छ जस्तो आफूलाई नलाग्ने बताए । अधिकार प्राप्त निकायबाट आएको पत्र दुवै सदनको सम्पत्ति भएको भन्दै उनले पत्र फिर्तासम्बन्धी ‘गलत प्रक्रिया’मा राष्ट्रियसभा संलग्न नरहेको समेत बताएका छन् ।

पत्रमा सापकोटाले ‘संघीय संसद तथा सो अन्तर्गतका समितिको व्यवस्थापन, सञ्चालनसमेतको व्यवस्था गर्ने अधिकार प्रतिनिधिसभाका सभामुखमा भएको’ भन्ने व्यहोरा उल्लेख गरेकोमा तिम्सिनाको आपत्ति छ।

फिर्ता पठाउनुपरे वा सदर गर्नुपरेको अवस्थामा राष्ट्रियसभा अध्यक्षसँग परामर्श गर्नुपर्नेमा त्यस्तो नभएको उनले उल्लेख गरे। संवैधानिक नियुक्तिमा सिफारिस भएकाहरूको ३५ दिनभित्र संसदीय सुनुवाइ हुनु्पर्ने प्रावधान छ ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा त्यसमा संसदीय सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सोमबार उक्त पत्रको सक्कल प्रति नै संवैधानिक परिषदमा फिर्ता पठाइदिएका थिए।