प्रधानमन्त्री ओली देशलाई हिन्दू राज्य बनाउने प्रयासमा !


काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दू राज्य बनाउने प्रयासमा लागेको बताएका छन् ।

संसद विघटनविरुद्ध माइतीघरमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले प्रधानमन्त्री ओली समूहले पुस २३ गते काठमाडौँमा गर्ने भनेको जनसभामा राजावादीहरु पनि सहभागी हुने र प्रधानमन्त्रीले २३ गते हिन्दू राज्य घोषणा गर्ने चर्चा रहेको बताएका हुन् । पाण्डेले ओलीका पछिल्ला कदमले उनी अब कम्युनिस्ट नेता नरहेको पुष्टि भएको पनि बताए ।

ओलीको कदमले दक्षिणपन्थीहरु सल्बलाइरहेको उल्लेख गर्दै पाण्डले राजावादीहरुले अहिले उनलाई राजनेता भन्न थालेको पनि बताए । पञ्चायत कालमा कम्युनिस्ट नेताहरुमाथि गोली हान्न निर्देशन दिनेहरुले नै ‘अहिले नेपालमा ओलीजस्तो राजनेता कोही छैनन’ भन्न थालेको पनि उनले बताए । उनले भने,‘प्रधानमन्त्री ओलीले समाजवादतर्फको यात्रामा घात गरे । नागरिकले अब त समाजवाद आउला, अब त सुख होला भनेर सोचेका थिए तर ओलीले त्यसलाई घात गरे । जो व्यक्ति सत्यको पक्षमा उभिन्छन्, तिनलाई ओलीले झम्टिन्छन् ।’

उनले प्रधानमन्त्री ओलीले संविधान मार्ने कुचेष्टा गर्दै गलतबाटोमा लागेको तर नेपाली जनताले त्यसलार्ई पराजित गरिदिने बताए । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संसद पुनःस्थापनाको विकल्प नभएको बताए ।

उनले नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसद पुनःस्थापना गर्नुपर्ने बताए । नेतृ पम्फा भुषालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरी हिन्दू राज्य स्थापनाको षड्यन्त्र गरेको बताइन् । प्रधानमन्त्री ओली प्रतिक्रियावादीको मतियार बनेर इतिहासको कुपात्र बनेको भन्दै उनले ओलीबाट थप कदम सम्भव नभएको बताइन् । अर्की नेतृ पूर्णकुमारी सुवेदीले संविधान विपरीत जाने कदमका विरुद्ध जस्तोसुकै परिस्थिति आएपनि डटेर लड्नुपर्ने बताइन् ।