अबको विकल्प राजसंस्थाः डा. लोहनी


जनकपुरधाम। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएका छन् । धनुषाको जनकपुरधाममा राप्रपा जिल्ला स्तरीय भेलालाई सम्वोधन गर्दै अध्यक्ष लोहनीले वाइडवडी, ओम्नी, ललितानिवास, यति समूह लगायत विवादित विषयमा प्रत्यक्ष सरकारी सहभागिताको कारण मुलुकको अर्थतन्त्र डामाडोल भएको बताए ।

उनले मुलुकको समृद्धिको निमित्त अर्थ र राजनीति दुवै सुरक्षित ढंगले वढनु पर्नेमा प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्र धरापमा परेका कारण राजनीति सुरक्षित नरहेको बताए । उनले कानुनी राज स्थापनाको लागि पनि सर्वोच्चको फैसलाले देशको भविष्यको अस्तित्वलाई दुरगामी प्रभाव पार्ने बताए । प्रधानमन्त्री कार्यालयको रवरछापको रुपमा राष्ट्रपति कार्यालय रहेकाले राष्ट्रपतीय व्यवस्थाबाट मुलुकले अविभावकीय भूमिका निर्वाह हुन नसकेको भन्दै लोहनीले संविधान भित्रको राजसंस्थाको आवश्यकता रहेको बताए ।

उनले नेपाली बीचको एकता, अस्तित्व र नेपालीहरुको संरक्षण गर्नसक्ने संस्थाको रुपमा राजसंस्थाको अपरिहार्यता झनै सान्दर्भिकता देखिएको बताए । लोहनीले प्रदेश २ को दु्रत आर्थिक प्रगति नहुन्जेल नेपालको आर्थिक विकास र खाद्य सुरक्षा हुन नसक्ने बताए ।

मधेसी जनताको पुरै उपेक्षा गरेर मधेसलाई ठूला दलहरुले प्रयोग गर्ने स्थान वा वस्तु मात्र वनाएको भन्दै समावेशी र समानुपातिक ढंगले सवै वर्ग,क्षेत्र र लिंगलाई राष्ट्रको मुलधारमा स्थापित गराउने राजनीतिक दल राप्रपालाई पुनः स्थापित गराउनु आफूहरु लागिपरेको बताए ।
मधेसी जनताको हक,अधिकार विभेदको अन्त्यको साथै राज्य व्यवस्थामा समावेशी र समानुपातिक प्रतिनिधित्वको लागि राप्रपा प्रतिवद्ध रहेकोसमेत बताए ।