यात्रु बस दुर्घटना हुँदा सर्लाहीमा दुई जनाको मृत्यु


सर्लाही । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ छुटेको यात्रुबस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा अर्का एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

दाङबाट काँकडभिट्टातर्फ गइरहेको ना ५ ख ४४८८ नम्बरको यात्रुबस आफैं अनियन्त्रित भई सडकदेखि १० मिटर तल पल्टिँदा बसमा सवार ३० जनामध्ये दुईको मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

चालकसहित पाँच जनाको अवस्था गम्भीर रहेका कारण उनीहरूलाई न्युरो अस्पताल वीरगञ्ज उपचारका लागि पठाइएको छ । अरु तीन जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको छ । नौ जनाको अवस्था सामान्य रहेका कारण स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ४ः५० बजे भएको दुर्घटनामा मृत्यु हुनेमा दाङ राप्ती गापा–५ का ३६ वर्षीया राजकुमारी चौधरी र दाङ राप्तीका २३ वर्षीया रीता चौधरी रहेका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।