केही दिन मेहनत गरौं, तनाशाह छिट्टै ढल्छः प्रचण्ड


काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडेर हेर्ने गरिएकोमा आपत्ति जनाउँदै पार्टी भित्र विधि र विधानको विवाद भएको बताएका छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रको समस्याको विषयमा छलफल नै नगर्ने र बहुमतको निर्णय पनि ओलीले नमानेको कारण अहिलेको स्थिति आएको बताएका हुन् ।

उनले नेपालमा २१ सय वर्ष पुरानो राजतन्त्र आन्दोलनबाट ढलेको भन्दै एक डेढ महिनाभित्र तानाशाह ढल्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली र हामी को बेइमानी भन्ने कुरा विधानलाई हेर्दा स्पष्ट हुने बताए ।

अध्यक्ष प्रचण्डले पार्टी एकताका क्रममा विधानमा सकेसम्म सहमतिमा निर्णय गर्ने तर सहमति भएन भने बहुमतको निर्णय मान्ने भन्ने उल्लेख गरिएकाले विधान हेर्दा स्पष्ट हुने बताए ।
उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेर संकटको अवस्था आएको हो ।’

उनले जेमा सहमति भएको थियो त्यो माथि ओलीले अतिक्रमण गरेको उल्लेख गर्दै राजनीतिक प्रतिवेदन नै एकताको आधारमा तयार भएको बताए । उनले भने, “केपीजिले सहमतिको भाषा भन्दा बाहिर गएर पार्टी फुटाएका हुन् । ओली इमान्दार भएको भए पार्टीमा समस्या आउने थिएन । नियम र विधि नमान्दा पार्टी विभाजित भयो ।’

प्रचण्डले भने, “जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे । आफू अगाडि बसेर मलाई पछाडि बस भन्यो मैले पनि खुरूखुरू माने, त्यहि मेरो गल्ती भयो । समस्या पनि त्यहिबाट सुरू भयो । मैले पनि ओलीले भनेको खुरुखुरु माने अनि उनमा महत्वकांक्षा बढ्दै गयो । उनी एकलौटी रुपमा चल्न थाले । पार्टीमा समस्या आयो ।”

अध्यक्ष प्रचण्डले केपी ओलीका कारण अहिलेसम्म प्राप्त उपलब्धी हत्या गर्ने काम गरेको बताए । ओलीले संविधानमा नै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभाको विघटन नभई संविधानकै विघटन गरेको बताएका बताएका छन् । अध्यक्ष प्रचण्डले संविधान अहिले कोमामा रहेकोले आन्दोलनको बलमा बचाउनुपर्ने बताए ।

अध्यक्षले आफ्नो र माधवकुमार नेपालको सम्बन्ध केपी ओलिसँगको जस्तो नभएको स्पष्ट पार्दै ओलीले जसरी जालझेलको सम्बन्ध आफू र अर्का अध्यक्ष माधव कुमार नेपालको नभएको बताए । उनले भने, “हामी विधि र विधान अनुसार चल्छौं नकि जालझेलले ।”