माछा मार्ने डुङ्गामा आफ्ना १६ जना सहकर्मीको हत्या गरेको आशङ्का गरिएका दुई उत्तर कोरियाली माझीलाई दक्षिण कोरियाले उत्तरका अधिकारीहरूलाई जिम्मा लगाएको छ।
उत्तरबाट दक्षिण कोरियाको सामुद्रिक सीमामा शनिवार प्रवेश गरेपछि उनीहरूलाई दक्षिण कोरियाले नियन्त्रणमा लिएको थियो। उत्तरबाट भागेर आफ्नो देशमा आएका मानिसहरूलाई प्राय: दक्षिण कोरियाले शरण दिने गरेको छ।
तर ती दुई पुरुषबाट आफ्नो राष्ट्रिय सुरक्षामा खतरा पर्न सक्ने भन्दै यो घटनामा उसले त्यसो गरेन। उनीहरूलाई शरण खोज्न आएका व्यक्तिका रूपमा भन्दा पनि अपराधी मानियो र तदनुरूप व्यवहार गरियो। माछा मार्न प्रयोग हुने डुङ्गामा चढेर सीमा पार गरेको दुई दिनपछि उनीहरू पक्राउ परेका थिए।
समाचारसंस्था योन्हापका अनुसार अर्का एकजना व्यक्तिसँग मिलेर उनीहरूले डुङ्गाका प्रमुख चालकलाई अक्टोबर महिनामा मारेको स्वीकार गरेका छन्। आफूसँग नराम्रो व्यवहार गरिएको भनाइ उनीहरूको रहेको दक्षिणका अधिकारीहरूले जनाएका छन्।
चालकको हत्याको विरोध गर्ने अन्य १५ कर्मचारीलाई पनि उनीहरूले मारिदिएका थिए। सबै शवलाई समुद्रमा फालिदिएको थियो। पहिला तीनै जना उत्तर कोरिया फर्किए। तर एक जनालाई प्रहरीले बन्दरगाहमा समातेपछि ती दुई जना डुङ्गामै दक्षिणतिर भागे।
आफूले उनीहरू भागेर दक्षिण आउनुको कारणमा विश्वास गर्न नसकेको र ती “अपराधी” लाई बस्ने अनुमति नदिएको दक्षिण कोरियाको एकता मन्त्रालयले जनाएको छ। ती सन्दिग्धहरू २० वर्षको छेकोमा रहेका छन्।

प्रतिक्रिया