काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको ठाउँमा आफू भएको भए राजीनामा दिने बताएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा आफू त्यो ठाउँमा भएको भए राजीनामा दिने बताएका हुन् ।
उनले आफूले प्रधानमन्त्रीलाई यस्तो स्थिति आएमा राजीनामा दिन सुझाएको तर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर गलत गरेको बताए । उनले प्रतिनिधिसभा विघटन गर्दा प्रधानमन्त्री ओलीले आफूलाई नसोधेको पनि बताए ।
उनले भने, ‘ प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको काम भएछ । आफ्नै पार्टीको नेतालाई पराजित गर्ने काम राम्रो थिएन । तर म पनि सचिवालय सदस्य हुँ । तर उहाँहरुले पनि सोध्नु भएन । अनि प्रधानमन्त्रीले पनि प्रतिनिधिसभा विघटन गर्नुभयो तर अहँ उहाँले पनि एक बचन सोध्नु भएन । यो दुःखद घटना भयो ।’
उनले यसअघि पार्टी विवाद मिलाउन धेरै प्रयास गरेको बताए । प्रतिनिधिसभा विघटन गर्दा आफूले असंवैधानिक भनेको भन्दै अहिले संवैधानिक इजलासमा विचाराधीन रहेकाले आफूले सोबारे टिप्पणी नगरेको बताए । गौतमले आफू प्रधानमन्त्री ओलीको आलोचक भएको र आफूले कार्यशैली सुधार गर्न पटक पटक आग्रह गरेको बताए ।
प्रधानमन्त्रीले कार्यशैली नसुधार्दा नै पार्टीमा समस्या अएको बताए । गौतमले नेकपामा विभाजन रहेको र त्यसबाट आफू दुखी रहेको पनि बताए । गणतन्त्र स्थापना र कम्युनिस्ट पार्टीको एकता गर्ने आफ्नो जीवनको उद्देश्य पूरा भए पनि अहिले नेकपामा विभाजन देखिएकोले धेरै दुःख लागेको बताए ।

प्रतिक्रिया