सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपील


काठमाडौं । नेपाली कांग्रेसले भोलि मंसिर २९ गते नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शनमा सहभागिता जनाउन अपील गरेको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी देशब्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दुरि राख्दै शान्तिपूर्ण सहभागीताका लागि अपील गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ । सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन ।’