हिमालयको महिमा बोध गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्रको पर्यावरण सन्तुलन कायम राख्न हिमालय क्षेत्रको महत्वलाई चिन्न विश्व समुदायलाई आग्रह गरेका छन् । क्लाइमेट एक्स समिट–२०२० लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

साथै, हिमालय जोगाउन विश्व तापमान नियन्त्रण गर्नसमेत उनले आग्रह गरेका छन् । चिलीको नेतृत्वमा फ्रान्स, इटली, बेलायत र संयुक्त राष्ट्रसंघले संयुक्त रुपमा सो सम्मेलन आयोजना गरेका हुन् ।

जलवायु महत्वाकांक्षा सम्मेलनमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले गर्नुभएको सम्बोधन

महामहिमज्यूहरु,
विशिष्ट महानुभावहरु,
यस सम्मेलनकाे आयोजना गर्नुभएकोमा म चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्य र संयुक्त राष्ट्र संघको नेतृत्वको सराहना गर्दछु ।
कोभिड–१९ ले हामीलाई कोप–२६ स्थगन गर्न बाध्य तुल्यायो । तथापि, सफा एवं हरित धरा निर्माण सम्बन्धी हाम्रा अभियान स्थगित हुन सक्दैनन्।

नेपाल पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्ने आह्वानको दरिलो समर्थन गर्दछ ।

हामी जलवायु उत्थानशील विकासको प्रर्बद्धनका लागि प्रतिबद्ध छौं र कार्बन-शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील छौं ।
हरित बृद्धि र हरित पुनरुत्थान प्रर्बद्धनका लागि हामीले सफा तथा नवीकरणीय उर्जा उत्पादनलाई प्राथमिकता दिएका छौं, विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या-पर्यटनको प्रर्बद्धन गरेका छौं ।

हामीले सन् २०३० सम्ममा संरक्षित क्षेत्र विस्तार गरी २३ प्रतिशतबाट ३० प्रतिशत पुर्‍याउने र जैविक विविधताको जर्गेना गर्ने लक्ष्य लिएका छौं ।
विश्वव्यापी तापक्रम बृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय संन्तुलन कायम राख्न हिमालयको महिमा बोध गर्नका लागि म विश्वलाई आग्रह गर्दछु ।

नेपालले यस वर्षको अन्त्यसम्ममा परिस्कृत एनडीसी प्रस्तुत गर्नेछ र सन् २०५० भित्र शून्य:प्राय कार्बन उत्सर्जनको परिदृश्यमा पुग्न महत्वाकांक्षी दीर्घकालीन रणनीति तर्जुमा गर्नेछ ।

हामी सन् २०२१ सम्ममा राष्ट्रिय अनुकूलन योजना एवं तदनुकूल जलवायु वित्त रणनीति र मागचित्र निर्माण गर्दैछौं ।
सन् २०३० सम्ममा हामी सबै ७५३ वटै स्थानीय तहमा जलवायु उत्थानशील अनुकूलन योजना लागू गर्नेछौं ।
यी महत्वाकांक्षाहरु लागू गर्नका लागि हामीलाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक हुन्छ ।
हरित यात्रामा एकसाथ अघि बढ्न हामीले सबै मुलुकहरुको साथ अपेक्षा गर्दछौं ।
धन्यवाद ।