काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेनामार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्य मन्त्री ढकालसँग छलफल गर्ने भएको हो ।
त्यसका लागि आगामी बैठकमा स्वास्थ्य मन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए । समितिले यस अघिका बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पुरा नगरीकन ओम्नी समूह मार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन शुरु गरेको थियो । तर लामो समय बैठक नै नबस्दा यो विषयमा समितिले छलफल गर्न सकेको थिएन ।
आगामी बैठकमा भने स्वास्थ्य मन्त्री ढकाललाई नै बोलाएर छलफल गर्ने तयारी समितिले गरेको हो । यस्तै समितिको बैठक लामो समय नबस्दा उजुरीको संख्या पनि बढेको छ ।
अहिलेसम्म एक दर्जन बढी उजुरी परेको पनि सचिव पाण्डेले जानकारी दिए । विशेष गरी सार्वजनिक खरिद ऐनलाई कार्यान्वयन गर्ने शिलशिलामा भएका अनियमितताका कुराहरुलाई लिएर उजुरी परेको छ । सडक निर्माण, विद्युत प्राधिकरण मार्फत हुने ठेक्काको विषय लगायतका विषयमा उजुरी परेको छ ।

प्रतिक्रिया