राष्ट्रिय हितको प्रवद्र्धन गर्ने विषय परराष्ट्र नीतिमा समावेसः परराष्ट्रमन्त्री


काठमाडौं । सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र नीति सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले सत्रुता नभई सबै मित्रता हुने गरी परराष्ट्र नीति अवलम्बन गरिएको बताए ।

संसारमा राजनीति, शक्ति र व्यवस्थाका हिसाबले भिन्दाभिन्दै प्रणालीहरु रहेको भएपनि नेपालको परराष्ट्र नीति तर्जुमा गर्दा निश्चित विचारधारा र राजनीतिक प्रणालीलाई आधार बनाइएको स्पष्ट पारे । कुनैपनि देशसँग नजिकको वा टाढाको भनेर कुटनीतिक व्यवहारमा फरक पार्न नखोजिएको पनि मन्त्री ज्ञवालीले बताए ।

परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई प्राथमिकता दिदै जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय क्षेत्रीय मञ्चमा नेपालको स्थान लगायतका विषयमा समेत जोड दिएको उनले बताए । स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्जालबाट सावैभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हित गर्ने लक्ष्य परराष्ट्र नीतिले लिएको छ ।

छिमेकी लगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्धिपक्षीय सम्बन्ध विस्तार र सुदृढ गरिने पनि परराष्ट्र नीतिमा उल्लेख छ । यस्तै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवद्र्धन गर्ने विषयलाई समेत समावेस गरिएको छ ।