तीन दिनको अस्पताल बसाईपछि अमेरिकी राष्ट्रपति ट्रम्प डिस्चार्ज


कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचार गराइरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पतालबाट फर्किएका छन् । उनी तीन दिन अस्पताल भर्ना गरिएका थिए । ट्रम्पले आउँदो महिना हुने चुनावको प्रचार अभियानमा छिट्टै जोडिने बताए ।

अस्पतालबाट हेलिकोप्टर उडानमार्फत् ह्वाइट हाउस पुगेका ट्रम्पको त्यहाँ पनि उपचार जारी रहने चिकित्सकहरूले जनाएका छन् । त्यसअघि ट्रम्पले ट्वीट गर्दै आफूलाई साँच्चिकै राम्रो महसुस भइरहेको कोभिडसँग नतर्सिन आग्रह गरेका थिए ।

ह्वाइट हाउस पुगेपछि उनी एक्लैको तस्बिर खिचिएको छ । जहाँ सैनिकले जस्तो अभिवादन गर्नुअघि उनले मास्क फुकालेको देखिन्छ । अस्पताल छाड्नु केहीबेर अघि राष्ट्रपतिले छिट्टै चुनावी अभियानमा फर्किने विश्वास व्यक्त गरेका छन् ।

डा. सीन कोन्लीले ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक नभइसकेको बताएका थिए । उनले ट्रम्पको अवस्था घर जान सक्ने गरि सुरक्षित रहेको बताउँदै उनी हप्ताको सातै दिन २४ घन्टा विश्वका उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने जानकारी दिएका थिए ।

परस्पर विरोधी विवरणहरूपछि ट्रम्पको अस्वस्थताको गम्भीरताबारे प्रश्नहरू बाँकी नै छन् । ह्वाइट हाउसभित्र देखिएको सङ्क्रमणको दायराबारे पनि अझैँ अस्पष्टता छ । अस्पतालबाट बिदा हुँदै उनले सबैलाई धेरै धन्यवाद भन्दै प्रश्नहरूको बेवास्ता गरेका थिए ।

जसमा एकजना संवाददाताको प्रश्न थियो, राष्ट्रपति के तपाईँ सुपर स्प्रेडर हो ? ट्रम्पले त्यसअघि ट्वीट गर्दै रोगबाट नडराउन आग्रह गरेका छन् । अमेरिकामा कोभिड १९ का ७४ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । भाइरसबाट सङ्क्रमित दुई लाख १० हजार अमेरिकीको मृत्यु भएको छ ।