अस्पतालबाहिर भेला भएर समर्थकहरूद्वारा ट्रम्पको स्वास्थलाभको कामना


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोनाभाइरस सङ्क्रमण भएर भर्ना भएको वाशिङ्टन डीसीनजिकैको अस्पतालबाहिर तथा देशका विभिन्न स्थानमा समर्थकहरू भेला भएर उनलाई स्वास्थलाभको कामना गरेका छन् ।

ट्रम्पलाई कोभिड १९ भएको गत शुक्रवार पुष्टि गरिएको थियो । त्यही साँझ उनलाई विमानमा उपचारका लागि वाल्टर रीड न्याश्नल मिलिटरी हस्पिटल लगिएको थियो । उनको स्वास्थ्य टोलीले ट्रम्पको स्वास्थ्यमा उल्लेख्य सुधार आएको तर ढुक्क हुने अवस्था अझै नआएको शनिवार अबेर बताएको थियो । अमेरिकामा आगामी नोभेम्बर महिनामा राष्ट्रपतीय निर्वाचन हुँदैछ।

ट्रम्प निर्वाचनको प्रचारप्रसारमा सक्रिय थिए । ट्रम्प बसेको अस्पतालबाहिर विरोधीहरू पनि भेला भएका थिए । शनिवार देशका विभिन्न स्थानमा र्यालीहरू आयोजित भए। तिनमा सहभागीहरूले ट्रम्प चाँडो निको होऊन् भनेर कामना गरेका छन् । क्यालिफोर्नियामा उनको समर्थनमा कार र्याली निकालिएको थियो ।

फ्लोरिडामा त समर्थकहरूले अझ डुङ्गा र्याली नै निकालेका थिए । न्यूयोर्कको स्ट्याटन आईलन्डमा पनि समर्थकहरू भेला भएका थिए । ट्रम्पलाई सङ्क्रमण पुष्टि हुनुअघि त्यहाँ र्यालीको आयोजना गरिएको थियो ।