महिलाहरु किन आफ्नो थर परिवर्तन गरी श्रीमानको थर प्रयोग गर्छन् ?


महामारीकाबीच विवाहका योजनाहरूमा कैयौँ अनिश्चितता देखिए पनि ३० वर्षे लिन्डसे एभान्स एउटा विषयमा भने स्पष्ट छिन् । अफ्रिकी मुलकका अमेरिकीहरू बिहेपछि धेरैले आफ्नो थर परिवर्तन गर्छन् । ‘विवाहको मिति जति नजिक आउँदैछ त्यति नै म उसको थर अपनाउने विषयमा सकारात्मक हुँदै गएकी छु,’ सन् २०२१ को जुलाईमा विवाह गर्ने तयारीमा रहेकी क्यालीफोर्नियाकी ती युवतीले भनिन् ।

आफ्ना अभिभावकसँगै उनी जीवनशैलीबारे सामग्री छाप्ने एक सञ्चार कम्पनी सञ्चालन गर्छिन् । विवाहपछि अमेरिकामा अधिकांश (करिब ७० प्रतिशत) महिलाले आफ्ना श्रीमान्को थर अपनाउने गरेको एउटा अध्ययनले देखाउँछ । सन् २०१६ मा गरिएको सर्वेक्षणका अनुसार ब्रिटेनमा त्यसो गर्ने महिलाहरूको सङ्ख्या करिब ९० प्रतिशत छ । ती मध्ये करिब ८५ प्रतिशत चाहिँ १८ देखि ३० वर्ष उमेर समूहका छन् ।

उक्त सङ्ख्या अघिल्ला पुस्ताको भन्दा केही कम भए पनि यो प्रथा आजको आत्मकेन्द्रित अनि जागरूक समयमा समेत पश्चिमा राष्ट्रहरूमा बलियो सांस्कृतिक आदर्शका रूपमा स्थापित छ । ‘यति धेरै महिलाहरूले आफ्नो श्रीमान्को थर राख्नु आश्चर्यजनक छ । किनकी यो पितृसत्तात्मक इतिहासबाट निर्देशित छ, यस्तो सोच जसमा विवाहपछि महिला एक पुरुषको सम्पत्ति बन्न पुग्छन्,’ वेलायतस्थित युनिभर्सिटी अफ ब्राडफोर्डमा पारिवारिक जीवन विषयका प्राध्यापक साइमन डङ्कनले भने ।

उनले पुरुषको थर अपनाउने अभ्यासबारे अनुसन्धान समेत गरिरहेका छन् । कैयौँ महिलाहरूले आफ्ना पार्टनरसँग एकबद्धभएको महसुस गर्नका लागि श्रीमानको थर अपनाउने गरेको बताएका छन् । स्पेन, आइसल्यान्ड अनि ग्रीसजस्ता केही देशबाहेक अधिकांश पश्चिमी युरोपेली राष्ट्रहरूमा पनि यो प्रथा व्याप्त छ । ‘प्रश्न के रहन्छ भने… के यो मात्र एउटा हानि बेगरको परम्परा हो वा उ बेलादेखि अहिलेसम्म त्यसमा केही अर्थ छ?’ यो प्रश्न डङ्कनलाई सोधौँ जसले ओस्लो विश्वविद्यालय र युनिभर्सीटी अफ वेस्ट अफ इङग्लयाण्डका शिक्षाविद्हरूसँग मिलेर यसको कारण पत्ता लगाउन लागि परेका छन् ।

पितृसत्तात्मक संस्कार

अमेरिकामा बिहे भएपछि धेरै महिलाले आफ्ना श्रीमान्को थर राख्ने गरेका छन् । वेलायत र नर्वेमा नव विवाहितहरू अनि विवाहको तयारी गर्दै गरेकाहरूसँग गरिएको लामो कुराकानी अनि हाल उपलब्ध अध्ययनहरूको गहन विश्लेषणबाट डङ्कनको टोलीले दुईवटा मुख्य कारण पाए । पहिलो पितृसत्तात्मक शक्तिको जड र दोस्रो असल परिवारको आदर्श जसमा आफ्नो जीवनसाथीसँगको साझा नाम हुनुले प्रतिबद्धताको सङ्केत गर्ने र आफू अनि आफ्ना सम्भावित बच्चाहरूलाई एक ढिक्का रूपमा प्रस्तुत गर्ने बुझाइ पाइन्छ ।

केही दम्पतीले त्यत्तिकै यो प्रथालाई स्वीकार गरेको पाइन्छ भने अन्य केहीका लागि यो सामान्य रूपमा एक परम्परा हो । अरू केहीले भने पुरुषको थर दिइनुपर्ने विचारधारालाई सक्रिय रूपमा अङ्गालेको पाइन्छ । उनको टोलीले तयार पारेको शोधपत्रले के सङ्केत गर्छ भने नाम परिवर्तन गर्ने महिलाहरू अन्य पितृसत्तात्मक परम्परासँग पनि जोडिएका छन् । थर परिवर्तन गर्ने कुरालाई पुरुषले महिलालाई प्रेम प्रस्ताव वा विवाहको प्रस्ताव गर्ने परम्परासँग पनि जोडेर हेरिएको छ ।

’आदर्श परिवार’

उनीहरूको टोलीले देखेको अर्को कारण सार्वजनिक विचारसँग सम्बन्धित छन् । जीवनसाथीको नाम अपनाउनु सम्बन्धप्रति आफ्नो प्रतिबद्धता र बाहिरी दुनियालाई आफूहरूबीच एकता रहेको देखाउने तरिका रहेको उक्त टोलीको निचोड छ । ‘मलाई लाग्छ की यसले हामीलाई एक व्यक्ति मात्रै नभएर परिवारका रूपमा पहिचान दिएको छ,’ क्यालीफोर्नियाकी लिन्डसे एभान्सले भनिन् ।

‘हाम्रो पहिलो अनि बीचको नामले व्यक्तिगत पहिचान गराउँछ। तर एउटै थर हुनाले हामीलाई एक भएको प्रत्याभूति दिलाउँछ।’ ’आदर्श परिवार’को धारणा सन्तान भएका महिलामा अझ प्रगाढ भएको शोधपत्रमा उल्लेख छ। विवाह गर्दा थर बदल्न नमानेकाहरूले समेत आमा बनेपछि आफ्नो दृष्टिकोण बदलेको पाइएको छ ।केही महिलाहरू पुरुषको थर लिने हो भने त्यसले महिलावादी आन्दोलनलाई फाइदा नपुर्याउने बताउँछन् । डङ्कनको अध्ययनले अभिभावकहरूमा रहेको अर्को समान धारणाको पनि चर्चा गरेको छ। फरक फरक थर हुँदा आफ्ना सन्तान अलमल पर्न सक्ने वा खुसी नहुन सक्ने विषयबारे उनीहरू चिन्तित छन् ।

के भविष्यमा धेरै मानिसहरूले थर फेर्नेछन् ?

भविष्यमा समेत थर अपनाउने प्रथा कायम रहने नरहने विषयमा शोधकर्ताहरूबीच बहस भइरहेको छ । हालसम्म निकै सुस्त गतिमा प्रगति अनि महिला र परुष दुवै अन्य विकल्पबारे खुला रहेको अवस्थासँग जोडिएर केही सङ्केत देखिए पनि उक्त विषयको अनुमान गर्न सक्ने निकै कम अध्ययन भएका छन् । सन् २०१६ मा वेलायतमा १,५०० भन्दा बढी मानिसमा गरिएको सर्वेक्षणमा ५९ प्रतिशत महिलाहरूले विवाह पछि थर फेर्ने बताएका थिए ।

त्यस्तै ६१ प्रतिशत पुरुषहरूको आफ्ना श्रीमतीले त्यस्तो गरुन् भन्ने चाहना रहेको बताइएको छ । यो सङ्ख्या उच्च देखिए पनि हालको समयमा यो परम्परा अपनाउने ब्रिटिश सर्वसाधारणहरूको अनुपातमा भने करिब ३० प्रतिशत कम हो । त्यस्तै एउटा अर्को सर्वेक्षणले यूकेका १८ देखि ३४ वर्ष उमेर समूहका ११ प्रतिशतले विवाह पश्चात् आफ्नो अनि श्रीमान् दुवैको थर राख्ने गरेको देखाएको छ ।

‘हामीले यस विषयमा पहिले पनि कुरा गरेका थियौ र हामीले एक अर्काको सबै कुरा साटेको हुँदा थर अपनाउन उचित ठान्यौँ,’ दक्षिणी स्विडेनमा बस्ने ३६ वर्षे निक निलसन बीनले भने । केही जोडीले दुवैजनाको मिश्रित थर रोज्न थालेको पाइन्छ । अमेरिकामा पनि दुवैको थर राख्ने चलन बढ्दो क्रममा छ । केही दम्पतीले भने दुवैको थर मिसाएर नयाँ बनाउने र केही पुरुषले श्रीमतीको थर अपनाउने गरेको पनि पाइन्छ । तर यी दुवै घटना असामान्य हुन् ।

म्याडी सावेज
बीबीसी वर्कलाइफ