अन्ततः अमेरिकी राष्ट्रपति ट्रम्प उपचारका लागि अस्पताल भर्ना


कोरोनाभाइरस सङ्क्रमित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उपचारका लागि अस्पताल भर्ना भएका छन् । उनलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो । ह्वाइट हाउसले राष्ट्रपति थकित भएको तर राम्रो अवस्थामा रहेको र सावधानी अपनाउन अस्पताल पुर्याइएको जनाएको छ । ट्रम्प र उनकी पत्नी मेलानिया दुवैलाई कोभिड १९ पोजिटिभ भएपछि ट्रम्पलाई विभिन्न औषधिको मिश्रणको सुइ दिइएको थियो ।

डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडनसँग राष्ट्रपतीय निर्वाचनका लागि प्रतिस्पर्धा हुन लागेको एकमहिनाअघि ट्रम्पका लागि यो सम्भावित धक्का हो । मास्क र सुट लगाएका ट्रम्प शुक्रवार अपरान्ह ह्वाइटहासबाट आफ्नो हेलिकोप्टर मरिन वानमा वासिङ्टन डीसीको सहरको बाहिरीभेगमा रहेको वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरसम्म छोटो उडान गरेर गएका थिए ।

हेलिकोप्टर चढ्नुअघि उनले संवाददाताहरूलाई हात हल्लाएका थिए र बुढी औँलाले ’ठिक छ’ भन्ने सङ्केत गरेका थिए तर केही बोलेका भने थिएनन् । ट्विटरमा पोष्ट गरिएको भिडियोमा ट्रम्पले भनेका छन् ‘मलाई लाग्छ मलाई एकदम ठिक छ। तर हामी सबै ठिक पार्नेछौं। मेरी पत्नीलाई पनि ठिक छ। त्यसैले धेरै धेरै धन्यवाद।’

राष्ट्रपतिका सन्तानहरू इभाङ्का र एरिकले ट्रम्पको पोष्ट रिट्विट गरेका छन् र योद्धा का रूपमा उनको प्रशंसा गरेका छन् । वाल्टर रिड अस्पतालमा ट्रम्प त्यहाँको सुविधासम्पन्न प्रेसिडेन्सियल सुइट कक्षमा भर्ना भएका थिए, जहाँ सामान्यतया अमेरिकी राष्ट्रपतिको वर्षेनी उपचार हुने गर्छ । वाल्टर रीड अमेरिकाको ठूलो र प्रसिद्ध सैनिक अस्पताल हो ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी काइली मक्नानीले विज्ञप्तिमा ट्रम्पमा सामान्य लक्षणहरू देखिएका छन् र दिनभर काम गरिरहेको बताएकी छन् । सावधानीका लागि र राष्ट्रपतिका फिजिसियन र मेडिकल विज्ञको सुझाव अनुसार उहाँले अबका केही दिन वाल्टर रीड अस्पतालस्थित राष्ट्रपति कार्यालयबाटै काम गर्ने उनले बताएकी छन् ।

ह्वाइट हाउसका सञ्चार निर्देशक अलिसा फारा ले राष्ट्रपतिले आफ्नो शक्ति उपराष्ट्रपति माइक पेन्सलाई नसुम्पिएको बताएकी छन् । अमेरिकी संविधान अन्तर्गत ट्रम्प आफ्नो जिम्मेवारी निर्वाह गर्न बिमारीका कारण असमर्थ भए उनले आफ्नो जिम्मेवारी अस्थायी समयका लागि उपराष्ट्रपतिलाई दिनसक्छन् ।

राष्ट्रपतीय चुनावको जम्मा ३२ दिनअघि ट्रम्पलाई कोरोनाभाइरस पोजिटिभ देखिएको छ । ७४ वर्षको उनको उमेर भनेको यो रोगले निम्त्याउनसक्ने जटिलता लागि उनी एकदमै खतरापूर्ण उमेर समूहमा पर्छन् । कम से कम उपचार हुँदासम्म उनी क्वारन्टीनमै बस्नुपर्छ । त्यसको अर्थ कम्तीमा उनको पक्षमा राष्ट्रपतीय प्रतिस्पर्धा एकदमै महत्वपूर्ण रुपमा परिवर्तित भएको छ।