इङ्गल्यान्डमा एक्लिएर बस्न अर्थात् सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन बेवास्ता गरे वा तोडे त्यस्ता व्यक्तिलाई १० हजार पाउण्डसम्म जरिवाना हुनसक्ने त्यहाँको सरकारले बताएको छ ।
नयाँ कानुनी कर्तव्य अन्तर्गत कोरोनाभाइरस सङ्क्रमण देखिएका वा हुने अवस्थामा भएका व्यक्तिले सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ । नयाँ नियम अन्तर्गत कम आय भएकालाई एकपटक ५०० पाउण्ड सहायता दिनुपर्ने र आइसोलेशनमा बस्न बिदा नदिने रोजगारदातालाई पनि सजाय हुनेछ ।
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि प्रधानमन्त्री बोरिस जोनसनले प्रतिबन्धहरू कडा पार्दै गर्दा यी नियमहरू लागु गर्न लागिएको बताएका छन् । शनिवारमात्रै इङ्गल्यान्डमा कोभिड १९ का ४ हजार ४२२ नयाँ बिरामीहरू थपिएका छन् र सङ्क्रमित २७ जनाको मृत्यु भएको छ ।
जरिबाना सुरुमा एक हजार पाउण्ड हुनेछ भने दोहोर्याएर नियम तोड्ने र एकदमै नराम्ररी नियम तोड्नेलाई १० हजार पाउण्डसम्म हुन सक्नेछ ।
त्यहाँ अहिलेसम्म सेल्फ आइसोलेशनमा बस्ने सुझाव केवल निर्देशनका रूपमा मात्रै दिइएको थियो । इङ्ग्ल्याण्डका लागि नयाँ नियमहरू घोषणा गर्दै प्रधानमन्त्री जोनसनले भाइरससँग लड्ने सबैभन्दा उत्तम उपाय भनेको सबैले नियमको पालना गर्नुपरेको बताए । नियम मान्न बेवास्ता गर्नेहरूले उल्लेख्य जरिबानाको सामना गर्नुपर्ने पनि उनले बताए । धेरै जरिबाना तिर्नुपर्नेमा आइसोलेशनमा बस्न रोक्ने रोजगारदाताहरू पनि पर्छन् ।
कम जोखिम रहेका राष्ट्रको सूचीमा नरहेका देशबाट वेलायत फर्किनेहरू १४ दिन क्वारन्टीनमा बसेको नपाइए उनीहरूमाथि पनि कानुनी कारबाही हुनेछ । अहिलेको नियमहरू धेरैजसो तोडिने गरेको र प्रभावकारी कार्यान्वयन नभएकोप्रति प्रधानमन्त्री जोनसन चिन्तित छन् । अहिले पाँचमध्ये चारजनाले सेल्फ आइसोलेशनमा बस्ने नियम तोड्ने गरेको बताएका छन् ।
सेप्टेम्बर २८ तारिखबाट भने नियम तोड्नेलाई जरिवाना लाग्नेछ । हाल इङ्गल्यान्डमा मात्रै लागु नयाँ नियमहरू वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा पनि लगाइने वेलायत सरकारको आशा छ । यी तीनवटा देशसँग कोरोनाभाइरससम्बन्धी आफ्नै नियमहरू लागु गर्ने अधिकार रहेको छ ।

प्रतिक्रिया