लन्डनस्थित एउटा गोदामबाट चोरिएका झन्डै ४० करोड रुपैयाँ मूल्य बराबरका २०० वटा “अप्राप्य“ पुस्तकहरू रुमेनियाको गाउँमा एउटा घरमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ती पुस्तकमध्ये केही ग्यालिलियो तथा आइज्याक न्यूटनले लेखेका कृतिका प्रथम संस्करणहरू पनि छन् ।
ती पुस्तकहरू सन् २०१७ को जनवरी महिनामा चोरहरूले फेल्टमको गोदामबाट चोरेका थिए । बुधवार उत्तरपूर्वी रुमेनियाको नियम्ट क्षेत्रमा रहेको एउटा घरमा खानतलासी गर्दा ती पुस्तक भुइँमुनि लुकाइएको अवस्थामा अधिकारीहरूले भेटेका थिए । अनुसन्धानकर्ताहरूका अनुसार ती पुस्तक फेला पार्न सन् २०१९ को जुन महिनामा यूके, रुमेनिया तथा इटलीका ४५ वटा ठाउँमा छापा मारिएको थियो ।
१३ जनामाथि चोरीको अभियोग लगाइएको थियो । तीमध्ये १२ जनाले आफ्नो संलग्नता स्वीकारेका थिए । चोरी भएका सामग्रीमध्ये दाँतेका दुर्लभ पुस्तक र स्पेनी चित्रकार फ्रान्सिस्को डि गोयाका चित्रहरूका साथै १६ औँ तथा १७ औँ शताब्दीका ग्यालिलियो एवम् आइज्याक न्यूटनका पुस्तक थिए ।
अमेरिकाको लस भेगसमा हुन लागेको विशेष पुस्तक मोलमोलाइ कार्यक्रमका निम्ति ओसार्न ठिक्क पारिएको बेला ती पुस्तकहरू हराएका थिए । हेथ्रो विमानस्थलनजिकै फेल्टममा भएको गोदामको छाना काटेर चोरहरूले डोरीमार्फत् ४० फिट तल ओर्लिएर चोरी गरेको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।
सेन्सरबाट जोगिन चोरहरू स्टोरको छानाबाट छिरेर डोरीको सहायताले तल ओर्लिका थिए ।ती चोरहरू सङ्गठित रुमेनियाली आपराधिक गिरोहका सदस्य भएको पत्ता लागेको थियो । लन्डनको मेट्रोपोलिटन प्रहरीको विज्ञप्तिमा ती गिरोह यूकेभरि मूल्यवान् वस्तुहरूको चोरीमा संलग्न भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया