बाँदर राख्ने पिँजडामा एक अफ्रिकी किशोरलाई राखेकोमा न्यूयोर्कको चिडियाखानाले १०० वर्षपछि माफी माग्यो


बाँदर राख्ने पिँजडामा एक अफ्रिकी किशोरलाई राखिएको समाचारले चर्चा पाएको एक शताब्दीपछि न्यूयोर्कको ब्रंक्स चिडियाखानाले क्षमायाचना गरेको छ । वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले सन् १९०६ मा बेङ्घालाई आफ्नो प्रदर्शनीमा राखिएकोमा माफी मागेको हो । सोसाइटीले यसअघि यो विषयलाई बेवास्ता गर्दै आएको थियो ।

सन् १९०६ सेप्टेम्बर ९ मा चिडियाखानामा राखिएको दिनदेखि सेप्टेम्बर २८ मा रिहा नहुन्जेलसम्म बेङ्घाको समाचारको युरोप र अमेरिकामा निकै चर्चा भएको थियो । उक्त प्रकरणलाई सोसाइटीले सय वर्षसम्म ढाकछोप गर्न खोजेको थियो ।

उसले वास्तविकभन्दा मिथ्या विवरण दिएको र गलत विवरणलाई पनि वर्षौँसम्म नसच्याएको देखिन्छ । चिडियाखानाले सन् १९०६ मा एक पत्रमा बेङ्घा चिडियाखानाको कर्मचारी रहेको मिथ्या विवरण दिएको देखिन्छ । दशकौँसम्म त्यो प्रपञ्चले काम गरेको थियो।

सन् १९७४ मा उक्त चिडियाखानाका क्युरेटर विलीयम ब्रिजेजले त्यसबेला के भएको थियो ठ्याक्कै थाहा नभएको दाबी गरेका थिए । आफ्नो पुस्तकमा उनले लेखेका थिए, “अटो बेङ्घालाई के आश्चर्यजनक वा दुर्लभ जनावर जसरी प्रदर्शनीमा राखिएको थियो?” चिडियाखानाको पुराना अभिलेख हेर्ने जिम्मा पाएका उनी नै उक्त प्रश्नको सबैभन्दा राम्रो जबाफ दिनसक्ने व्यक्ति थिए ।

भारी हतियारबाट सुसज्जित भएर कङ्गो पुगेर अटो बेङ्घा र अरूलाई बन्धक बनाएर भेर्नरका नातिले सन् १९९२ मा सह(लेखन गरेको पुस्तकमा पनि मिथ्या विवरण दिइएको छ । उक्त पुस्तकमा भेर्नर र बेङ्घाबीच मित्रताको चर्चा गरिएको छ। बेङ्घाले आफूलाई बन्धक बनाउँदा विरोध गरेपनि न्यूयोर्कमा प्रदर्शनमा सहभागी हुँदा खुसी भएको लेखिएको छ ।

केहीले सय वर्षपछिको अपूर्ण माफीपछि अब सोसायटीले यस विषयमा पूर्ण सत्य बाहिर ल्याउनु पर्ने बताएका छन् । यो प्रकरणले संरक्षण र यसको इतिहासका बारेमा जनचेतना फैलाउने मौका दिने उनीहरू बताउँछन् । उनीहरूले दिएको सुझावमध्ये एउटा सुझाव सोसायटीले आफ्नो शिक्षा केन्द्रको नाम अटो बेङ्घाको नाममा राख्ने रहेको छ।