एनभिडिया सीईओ जेन्सन हुआङ पुनः पदमा फर्किए


बीबीसी । अमेरिकी एआई चिप निर्माता कम्पनी एनभिडियाले जेन्सन हुआङलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनः नियुक्त गरेको छ। कथित चिनियाँ जासूससँग सम्बन्ध र अन्य विवादसम्बन्धी समाचार सार्वजनिक भएपछि राजीनामा दिएका हुआङ दुई साताभन्दा कम समयमै कम्पनीको नेतृत्वमा फर्किएका हुन्।

हुआङलाई पुनः नियुक्त गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनीको सञ्चालक समितिसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कुरा गरेको बताएका छन्। सोमबार ट्रम्पले हुआङलाई पुनः नेतृत्वमा ल्याउन आफूले ‘सम्झौता गराएको’ दाबी गरेका हुन्।

हुआङको पुनर्नियुक्तिलाई लिएर अमेरिकी डेमोक्र्याटहरूले भने ट्रम्प प्रशासनले आर्थिक लाभका लागि राष्ट्रिय सुरक्षासँग सम्झौता गरेको आरोप लगाएका छन्। हुआङ डिसेम्बर ३ मा अमेरिकी सिनेटको बैंकिङ समितिसमक्ष बयान दिने तयारीमा छन्। उनलाई प्रतिनिधिसभाका अन्य समितिहरूले पनि उपस्थित हुन बोलाएका छन्।

हुआङको पुनरागमनसँगै अमेरिकी शेयर बजारमा समेत सकारात्मक प्रभाव परेको छ। एनभिडियाको शेयर मूल्य सोमबार ३१ प्रतिशतले बढेको र कम्पनीको बजार मूल्यमा करिब एक ट्रिलियन अमेरिकी डलर थपिएको जनाइएको छ। यसले पछिल्लो एक सातादेखि जारी अमेरिकी शेयर बजारको गिरावटलाई रोक्न सहयोग गरेको छ।

एनभिडियाका सञ्चालक समितिका अध्यक्ष हार्भी सी. जोन्सले हुआङ कम्पनीको नेतृत्वका लागि सही व्यक्ति भएको र उनको पुनर्नियुक्ति शेयरधनी, कर्मचारी, साझेदार तथा ग्राहकहरूको हितमा रहेको बताएका छन्।

सञ्चालक समितिले अमेरिकी सरकारका उच्च अधिकारीहरूबाट सुझाव प्राप्त गरेको र हुआङको पुनर्नियुक्तिले राष्ट्रिय सुरक्षामा जोखिम नहुने विश्वास रहेको जनाएको छ। समितिले गत मंगलबार मात्रै उनलाई पुनः नियुक्त गर्ने योजना नरहेको स्पष्ट पारेको थियो।

हुआङले नोभेम्बर १२ मा वैवाहिक सम्बन्धबाहिरको सम्बन्धबारे आरोप सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए। उनीमाथि दुई महिलासँग सम्बन्ध रहेको आरोप लागेको थियो, जसमध्ये एक एनभिडियाकी कर्मचारी र अर्की चिनियाँ जासूससँग सम्बन्ध रहेको आरोप लागेकी महिला थिइन्। यी आरोपहरू पुष्टि भएका छैनन्।

यसैबीच, अमेरिकी वाणिज्य विभागले सिंगापुरस्थित एआई कम्पनी मेगास्पिडलाई प्रतिबन्धित संस्था सूचीमा राख्ने प्रक्रिया अघि बढाएको जनाएको छ। उक्त कम्पनीसँग सम्बन्धित एक पूर्वअधिकारीमाथि चीनका लागि जासुसी गरेको आरोप लागेको समाचारसँगै यो कदम अघि बढाइएको हो।

अमेरिकी वाणिज्य विभागका अनुसार अनधिकृत प्रयोगकर्ता वा प्रयोजनमा उन्नत कम्प्युटिङ सामग्री पुग्ने जोखिमका कारण प्रतिबन्ध सूची विस्तार गर्न लागिएको हो।