प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धिलाई नतिजामा बदल्नुपर्छः सांसद न्यौपाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले प्रधानमन्त्रीको भारत भ्रमणलाई ऊर्जा क्षेत्रको विकास, नेपाल–भारत ऊर्जा सहकार्य र आईआईटीको अफशोर क्याम्पस स्थापना गर्ने सन्दर्भमा उपलब्धिमूलक तथा सकारात्मक रूपमा लिएका छन्।

प्रधानमन्त्रीको भारत भ्रमणपछि सामाजिक संजालमार्फत सांसद न्यौपानेले नेपालको जलविद्युत उत्पादन क्षमता विस्तार, विद्युत व्यापार, दीर्घकालीन बजार सुनिश्चितता र क्षेत्रीय ऊर्जा सहकार्यका लागि उच्चस्तरीय राजनीतिक संवाद तथा समझदारी महत्वपूर्ण उपलब्धि हुने बताएका छन्।

उनले कूटनीतिक उपलब्धिको वास्तविक मूल्य कार्यान्वयनबाट निर्धारण हुने उल्लेख गर्दै समझदारी र प्रतिबद्धतालाई ठोस नतिजामा बदल्न तत्काल नीतिगत, प्राविधिक, संस्थागत र कार्यान्वयनसम्बन्धी कमजोरी पहिचान गरी सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

यस्तो छ न्यौपानेको भनाई
प्रधानमन्त्रीको भारत भ्रमण र ऊर्जा कूटनीतिः उपलब्धिलाई नतिजामा बदल्नुपर्छ
ऊर्जा क्षेत्रको विकास, नेपाल–भारत ऊर्जा सहकार्य र IIT को अफशोर क्याम्पस खोल्ने सन्दर्भमा प्रधानमन्त्रीको भारत भ्रमणलाई उपलब्धिमूलक र सकारात्मक रूपमा लिएको छु । नेपालको जलविद्युत उत्पादन क्षमता विस्तार, विद्युत व्यापार, दीर्घकालीन बजार सुनिश्चितता र क्षेत्रीय ऊर्जा सहकार्यका लागि उच्चस्तरीय राजनीतिक संवाद तथा समझदारी महत्वपूर्ण उपलब्धि सावित हुनेछ।

तर कूटनीतिक उपलब्धिको वास्तविक मूल्य त्यसको कार्यान्वयनबाट निर्धारण हुन्छ। समझदारी र प्रतिबद्धतालाई तार्किक निष्कर्षमा पुर्याउँदै नयाँ उचाइ दिन अब तत्काल देखिएका नीतिगत, प्राविधिक, संस्थागत र कार्यान्वयन सम्बन्धी कमीकमजोरी पहिचान गरी सच्याउन आवश्यक छ।

विशेषगरी निम्न विषयमा तत्काल ध्यान दिनुपर्छः–

ऊर्जाको सन्तुलित उत्पादन र खपतलाई नेपाल विकासको सुत्र र विकास मोडेल बनाउनुपर्छ ।
उत्पादित विद्युतको दीर्घकालीन र सुनिश्चित बजार व्यवस्थापन।

– अन्तरदेशीय प्रसारण लाइनको विस्तार तथा क्षमता अभिवृद्धि।
– विद्युत व्यापारमा रहेका नीतिगत तथा प्राविधिक अवरोधको समाधान।
– निजी क्षेत्रका जलविद्युत आयोजनाको लगानी, निर्माण र विद्युत खरिद प्रक्रियालाई सहज बनाउने।
– विद्युत निर्यातसँगै स्वदेशमै उद्योग, कृषि, यातायात र घरायसी क्षेत्रमा विद्युत खपत बढाउने।
– नेपाललाई क्षेत्रीय ऊर्जा व्यापारको विश्वसनीय केन्द्रका रूपमा विकास गर्ने।

नेपालको जलस्रोतलाई केवल विद्युत उत्पादनको स्रोतका रूपमा मात्र होइन, औद्योगिकीकरण, रोजगारी सिर्जना र राष्ट्रिय आर्थिक रूपान्तरणको आधारका रूपमा उपयोग गर्ने ढोका क्रमशः खुल्नेछ।

हाम्रो ऊर्जा कूटनीति विद्युत बिक्रीमा मात्र सीमित हुनुहुँदैन। बगेर समुद्रमा पुग्ने पानीलाई पारस्परिक विश्वास, सहकार्य र दीर्घकालीन समझदारीमार्फत दुवै देशको हितमा उपयोग गर्न सक्ने दूरदर्शी क्षेत्रीय ऊर्जा रणनीति आवश्यक छ।