नवलपुर । चार लेनमा विस्तार सम्पन्न नारायणगढ–बुटवल सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न थालिएको छ । ११३ किलोमिटर लामो सडकको बीचमा रहेको तीन मिटर चौडा डिभाइडरमा दुबो रोप्ने काम तीव्र गतिमा भइरहेको छ ।
नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार गैँडाकोट, देवचुली, कावासोतीलगायत विभिन्न स्थानमा डिभाइडरमा दुबो रोप्ने काम भइरहेको छ ।
सडक विस्तारअन्तर्गत कालोपत्र गर्ने काम लगभग सकिएको छ । अहिले सडक किनारका सर्भिस लेन, डिभाइडरमा रङरोगन, बीचको डिभाइडरमा दुबो रोप्ने तथा सडकलाई सुन्दर देखाउने बिरुवा रोप्ने काम भइरहेको खनालले बताए ।
विसं २०१८ मा तत्कालीन राजा महेन्द्र शाहले नवलपुरको गैँडाकोटमा शिलान्यास गरेको पूर्वपश्चिम राजमार्ग नारायणगढ–बुटवल खण्ड करिब ६५ वर्षपछि चार लेनमा विस्तार भएको हो । सडक विस्तारका लागि २०७५ माघमा ठेक्का सम्झौता भएको थियो । सोही वर्ष चैतमा शिलान्यास भएपछि निर्माण सुरु भएको सडक ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
तर, विभिन्न समयमा चार पटक म्याद थप गर्दै करिब आठ वर्ष लगाएर गत साउनमा सडक विस्तारको काम पूरा भएको खनालले बताए ।
‘सडकको लगभग काम सकिएपछि हामीले साउनमा टेकओभर गरिसकेका छौँ । सडक टेकओभर मात्र भएको हो, हस्तान्तरण भने भएको छैन । सडक टेकओभरपछि पाँच वर्षसम्म निर्माण कम्पनीले त्रुटि सच्याउने काम गर्छ । त्यसपछि मात्रै हस्तान्तरण हुन्छ,’ खनालले भने ।
सडक निर्माणका क्रममा देखिन सक्ने त्रुटि सच्याउन निर्माण कम्पनीले पाँच वर्षसम्म मर्मत गर्नुपर्ने व्यवस्था रहेको उनले बताए ।
कालोपत्र तथा ढलानको मुख्य काम सकिएपछि अहिले त्रुटि सच्याउने, पैदलयात्रीका लागि पेटी तयार पार्ने, सडक किनारमा रेलिङ राख्ने तथा ढलान गर्ने काम भइरहेको छ ।
गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म ४८ किलोमिटर पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर सडक विस्तारको ठेक्का लगाइएको थियो । दुवै खण्डको ठेक्का ग्लोबल टेन्डरमार्फत चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो । सडक विस्तारमा करिब १७ अर्ब रुपैयाँ खर्च भएको छ ।
कुल बजेटको ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडीबी)ले १.५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो ।
११३ किलोमिटर सडक विस्तारअन्तर्गत ७० किलोमिटर चार लेन, २९ किलोमिटर छ लेन र दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेन सडक निर्माण गरिएको छ । बजार क्षेत्र, समथर भूभाग र पहाडी क्षेत्रको भौगोलिक अवस्था तथा यातायात आवश्यकताअनुसार सडकको डिजाइन फरक बनाइएको आयोजनाले जनाएको छ ।
ग्रामीण तथा वन क्षेत्रमा चार लेन, सहरी क्षेत्रमा छ लेन र दाउन्नेको भौगोलिक कठिनाइ भएका क्षेत्रमा तीन लेन सडक निर्माण गरिएको हो । सडकमा लेन मार्किङ, ट्राफिक सङ्केत, गति सीमा सङ्केत तथा गति निगरानीका लागि स्पिड गन प्रयोग गर्ने व्यवस्था पनि गरिएको छ ।
सडक विस्तारपछि सवारीसाधनको गति बढ्ने भएकाले दुर्घटना न्यूनीकरण गर्न गति सीमा निर्धारण गरिएको खनालले बताए । उनका अनुसार सिधा तथा खुला सडकमा अधिकतम ८० किलोमिटर प्रतिघण्टा, बजार क्षेत्र तथा क्रसिङमा करिब ६० किलोमिटर प्रतिघण्टा र जङ्गली क्षेत्र तथा दाउन्नेको पहाडी क्षेत्रमा अधिकतम ४० किलोमिटर प्रतिघण्टा गति सीमा तोकिएको छ ।
दाउन्ने क्षेत्रमा पटकपटक कालोपत्र गर्दा सडक बिग्रने र भासिने समस्या देखिएपछि करिब ११ किलोमिटर सडक सिमेन्ट कङ्क्रिटबाट निर्माण गरिएको छ । सडक विस्तारका क्रममा गैँडाकोटदेखि बुटवलसम्म ४९ हजार ८३० वटा रुख काटिएका थिए ।
सडक विस्तारसँगै यस खण्डमा २१ वटा ठूला पुल, ४३ वटा साना पुल र पानी निकासका लागि ४६ वटा कल्भर्ट निर्माण गरिएको छ । साना पुल तथा कल्भर्ट चार लेनमा निर्माण गरिएको भए पनि ठूला पुल पुराना पुलको दक्षिणतर्फ दुई लेनमा बनाइएको छ । पुराना पुलको अवस्था र प्राविधिक आवश्यकताअनुसार स्तरोन्नति तथा प्रतिस्थापन गरिएको खनालले बताए ।

प्रतिक्रिया